ब्राउन सुगरसहित पक्राउ परेका सेनाका मेजर लागुऔषध कारोबारी

साउन २६, काठमाडौं । ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका बिक्री गर्ने गरेका पाइएको छ । मेजरले एक हजार रुपैयाँमा एउटा पोका बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
null
मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट ब्राउन सुगरको ४ वटा पोका (डेढ ग्राम) बरामद भएको थियो । सिंहसँगै अन्य दुई जनालाई नियन्त्रणमा लिइएको थियो तर उनीहरुको संलग्नता नदेखिएपछि छोडिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । म्याद थपपछि मात्रै विस्तृत अनुसन्धान हुनेछ ।
सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।
सामान्य मुद्दामा सैनिक अधिकृतविरुद्ध सैनिक प्रहरीले अनुसन्धान गर्छ । तर, लागूऔषधसम्बन्धी कसूर भएकाले सामान्य नागरिक सरह नियमित अदालतबाट मेजर सिंहको कसूरको फैसला हुनेछ ।








