धरान उपमहानगरपालिकाद्वारा बालमैत्री अभियान सम्बन्धी अन्तर्कृया सम्पन्न

धरान,सुनसरी, भाद्र १५ । २०७० सालमा बालमैत्री स्थानीय शासन रणनीति योजना बनाएर बालमैत्री अभियान सुरु गरेको धरान उपमहानगरपालिकाले सुनसरीको धरानमा पत्रकारहरुसँग बृहत् अन्तर्कृया कार्यक्रम गरेको छ ।

नेपालको संविधानले बाल अधिकारलाई मौलिक हकको रुपमा १० वटा हकको व्यवस्था गरे अनुसार नै धरान उपमहानगपालिकाले योजना बनाउँदै यस्ता किसिमको कार्यक्रम गरेको धरान उपमहानगररपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १२ ग मा वडाको काममा वडालाई बालमैत्री बनाउने भन्ने रहेको छ । सोही अनुसारको कार्यको धरानबाट समेत शुभारम्भ भएको   धरान उपमहानगरपालिकाका वरिष्ठ सामाजिक शाखा अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।

यसका लागि नगर तहमा नगर प्रमुखको अध्यक्षतामा १३ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन समेत भएको छ ।

त्यस्तै २० वटै वडामा वडाध्यक्षको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन भएका छन् भने नगर तहमा ईलाका प्रहरी कार्यालयका प्रमुखको संयोजकत्वमा बाल उद्धार तथा संरक्षण समिति गठन भएको खतिवडाले जानकारी दिए । त्यस्तै बालश्रम मुक्त घोषणा भएका वडाहरु ४,५,६,१३,१४,१५,१७ र २० मा वडा स्तरीय बाल संरक्षण समिति गठन भएका छन । वडा नं ४,५, ६, १३,१४ र २० मा पुर्नगठन समेत भएको खतिवडाले जानकारी दिए ।

२० वटै वडामा बाल क्लब र वडा बाल संजाल गठन भई सकृय रुपमा काम गरिरहेका छन । सबै बाल क्लबहरुको र वडा बाल संजालको समेत पुनर्गठन गरिएको छ भने समुदायमा आधारित ८० वटा, विध्यालयमा आधारित १०४ वटा बाल क्लबहरु रहेका छन ।

त्यस्तै वडा नं ४,५,६,१३,१४ र २० मा समुदाय स्तरको बालमैत्री समिति गठन भएका छन् भने अन्य वडामा हुने क्रममा नै रहेको उपमहानगरपालिकाले जनाएको छ ।

सोही अन्तर्कृया कार्यक्रममा खतिवडाले धेरै समय देखि विभिन्न संघ संस्थाले धरान क्षेत्रमा काम गरे पनि सडक बालबालिकाको समस्या पूर्ण रुपमा समाधान नभएको बताए । उनले २०७४ पुषमा बाल संरक्षण समिति सहित सरोकारवालाको बैठक बसेको र सो बैठकबाट सडक बालबालिकाको तथ्याङ्क संकलन गर्ने निर्णय गरी समिति गठन समेत गरिसकेको जनाएको छ भने सो समितिले तथ्याङ्क संकलन गर्दा १७ जना बालबालिका रहेको तथ्याङ्क निकालेको छ ।

बालमैत्री स्थानीय शासन नगर समितिले १४ वर्ष मुनिका ८ जनालाई भिओसी र १४ बर्षमाथिका ९ जनालाई पुर्नजिवन केन्द्रमा पठाई सुधार गर्ने र आवस्यक खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरी सो काम सम्पन्न भएको र तीन महिना भित्रमा परिवारमा पुर्नस्थापना गर्ने र परिवार नभएकालाई अन्य व्यवस्था गर्नेछ ।

त्यस्तै धरान उपमहानगरपालिकाले बालमैत्री सम्पर्क ईकाइको स्थापना गरि बालमैत्री फोकल पर्सन निर्मला बस्नेतलाई तोकेको छ भने बालमैत्री स्थानीय शासनको बारेमा निर्वाचित जनप्रतिनिधीहरुलाई ३ दिनको अभिमुखीकरण कार्यक्रम गर्नुका साथै धरानलाई २०७५ साल भित्रमा बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धता समेत जाहेर गरेकाे छ ।

हाल सम्ममा धरान उपमहानगरपालिकाले धरानको वडा न १३ र १४ लाई बालमैत्री वडा घोषणा गरिसकेको छ भने वडा नं २० लाई बाल दिवसको अवसर पारेर यहि भदौ २९ गते बाल मैत्री वडा घोषणा गर्ने तयारी गरेको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =