लिबियामा सत्ता घटककै भिडन्तमा मारिए २७ जना

“एजेन्सी, भदौ १५ । लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन्। सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन्।

केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। गत सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ।

दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ। त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको उक्त दस्ता ‘तथाकथित सातौँ ब्रिगेड’ले सुरक्षाकर्मीमाथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको भएपनि उनीहरूबीच सम्झौता भएको लिबियाका गृहमन्त्री अब्देसलाम असौर बताए।

लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन्। गत बर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट खेद्न सफल भएका थिए।

उक्त क्रममा दर्जनौँ मानिसको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =