विद्यालय पुर्ननिर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग

माघ १४, गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै  पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड।   

४ वर्ष देखि जस्ताको  अस्थायी टहरामा यस्तै नियतिका साथ पढ्दै आएका लक्ष्मी माध्यमिक विद्यालय पालुङटार–६, गाईखुर गोरखाका विद्यार्थीहरुले नयाँ भवन पाएपछि फुरुङ्ग बने । खुसीले उफ्रिए, चिच्याए, नाचे र धेरै बेरसम्म भवनका भित्ता र नयाँ डेस्कबेञ्च मुसारिरहे । 

अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु सोमबार  नयाँ भवनमा पढ्न पाउने भएपछि एकाएक रोमाञ्चि बने । विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र शिव नेपालीले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए । छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनले गीत मार्फत नै सुनाए ।   

यस्तै कक्षा ८ की  छात्रा सरु श्रेष्ठले  छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् ।  पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे–श्रेष्ठले भनिन्, अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।   

कक्षा ३ की छात्रा सुस्मिता मगरातीले जस्ताको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् ।   

कक्षा १० का छात्र सञ्जय मल्ल पनि विद्यालयको नयाँ भवन हेरर धेरै बेर टोलाए । उनले भने– अब त हावा लागेपनि छाना नउड्ने भयो ।   

नयाँ भवनको खुसी विद्यार्थीमा मात्रै सिमित रहेन । अभिभावकहरु पनि नयाँ भवन देखेर सन्तुष्ट भएका देखिन्थे । स्थानीय अभिभावक रामकुमार श्रेष्ठले विद्यालयमा नयाँ भवन बनेकोमा खुसीकोसीमा नै नरहेको बताए । जिल्लाकै पुरानो मध्येको यस विद्यालय भूकम्प पश्चात् अस्थायी टहरामा सीमित भएको थियो । उनले भने– नयाँ भवनसँगै विद्यालयको विरासत फर्केको छ ।   

अर्का स्थानीय पुष्पलाल श्रेष्ठले अस्थायी टहरामा विदार्थी पढ्न पठाउँदा दिनभर नै चिन्ता लागिरहने भन्दै  अब पक्की भवन बनेपछि सबै पीर हटेको खुसी व्यक्त गरे ।   

भव्य समारोहका बीच सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीन ब्लकको २४ कोठे नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।   

विद्यार्थीमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी नयाँ भवनमा अत्याधुनिक विज्ञान प्रयोगशाला, पुरस्तकालय, कम्प्युटर ल्याव, किचेन, शौचालय, खानेपानी, इसिडिलगायतका सुविधा रहेका छन् ।   

२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र टिनले नै बारेको अस्थायी टहरामा पढ्दै आएका थिए ।   

२ वर्षमा निर्माण सम्पन्न विद्यालय भवनको ०७५ बैशाखमा निर्माण शुरुभएका थियो । एक भव्य समारोहका बीच सोमबार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो । 

शुरुमा  एमवी गौरी पावर्ती निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनियर निशान अधिकारीले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरणगरेका थिए ।   

लगत्तै मिश्रले सो भवनको साँचो प्रमुख अतिथि एवं पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेलाई  हस्तान्तरण गरेका थिए । पाण्डेले पालुङटार नपाका ६ नम्बरका वडाध्यक्ष गोविन्द बराकोटीलाई, बराकोटीले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम काराखेतीलाई र विव्यस अध्यक्ष काराखेतीले अन्तिममा भवनको साँचो विद्यालयका  प्रधानाध्यापक टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।   

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले भूकम्पको केन्द्र गोरखामा संरचनाहरु मात्रै नभत्किएकासँगै मान्छेका मनहरु पनि भत्केका भन्दै पुननिर्माणले संरचना र मनहरुको पुननिर्माण एकैसाथ गरिदिएको  बताए । 

पालुङटार नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष गोविन्द बराकोटीले जस्ताको टहरामा कष्टसाथ पठनपाठन गर्दै आएको विद्यालयलाई इकाईले नयाँ भवन बनाइदिएकोमा खुसी व्यक्त गरे । भवनको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिकाको भएको भन्दै विद्यालयमा प्रविधियुक्त सिकाइ गर्ने रविद्यार्थी संख्या बढाउने जिम्मा आफुहरुको भएको बताए । बडेमानको नयाँ भवन पाएपछि लक्ष्मी मावि ६७ वर्षे तन्नेरी बनेको छ–बराकोटीले भने, स्थानीय अभिभावकहरुले अब छोराछोरी यस विद्यालयमा पठाउनु पर्यो, गुणस्तरको जिम्मा हामी लिन्छौं ।   

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम काराखेतीले भवनको अभावमा जस्ताको टहरामा विद्यालय सञ्चालन गर्दा हिलो र धूुलोको धेरै समस्या आएको भन्दै अब गर्मी र जाँडोले विद्यार्थीहरु पीडित नहुने बताए ।   

विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठले भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने बताए । गर्मीमा जस्ता तात्ने, जाँडोमा शीत चुहिने, हावा लागे छानै उड्ने, पानी परे हिलो हुने, घाम लागे धूलो उड्ने विगतको चार वर्ष विद्यालय नियमित गराउनैमा पुरा ध्यान केन्द्रित गर्नुपरेको श्रेष्ठले दुखेसो गरे ।   

सोही समारोहमा विद्यालयको पूर्व विद्यार्थी संघले कक्षा ११मा प्रथम भएकी सजिना थापा, कक्षा ९ मा प्रथम भएका सञ्जय मल्ललाई नगद ११ हजार र कक्षा ८ मा प्रथम भएका अशोक परियारलाई नगद ८ हजार सहित पुरस्कृत गरेको थियो । 

भूकम्पले भवन ध्वस्त बनाएपछि विद्यालयले अर्कैको जग्गा भाडामा लिएर अस्थायी टहरामा पठनपाठन गराउँदै आएको थियो ।  विस २००९  सालमा स्थापना भएको विद्यालयमा हाल २५० विद्यार्थीहरु अध्ययनरत छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =