बुढानिलकण्ठ नगरपालिकामा एक जनाको र्यापिड टेस्टमा पोजिटिभ देखियो

वैशाख ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाले गरेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा एकजना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ ।
वैशाख ३ गते बुधबार वडा नम्बर ८ मा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा नतिजा पोजिटिभ देखिएको हाे । ती युवती चैत्र ३–४ गते इटाली हुँदै नेपाल आएकी थिइन् ।
बुधबार र्यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले पनि पुष्टि गरे । ‘र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठायौँ,’ मेयर खरेलले भने ।
ती युवतीलाई थप परिक्षण पिसिआरको लागी टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिएपछि बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।
संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ– ९ बस्ने उनी इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ । तर उनीमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए ।
त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ। बुधबार भने उनी आफैँ नगरपालिकाले सञ्चालन गरेको र्यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।










