‘ल एण्ड अर्डरको कुरामा ओली सरकार टोटल्ली फेल’– प्रकाशमान सिंह

काठमाडौँ, भदौ १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई मारमा पारेको आरोप लगाएका छन् ।

मंगलादेवी सिंहको २२ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान काठमाडौँको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौँ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सरकार कुनै क्षेत्रमा पनि सफल हुन नसकेको भन्दै दुई तिहाइको सरकारले जनतालाई मारमा पारेको आरोप लगाएका हुन् ।

दुई तिहाइको सरकारले जनतालाई छुने खालको कार्यक्रम ल्याउन नसकेको र जनताको समस्या समाधान गर्न नसकेको उनको भनाइ छ ।

पूर्वमन्त्री समेत रहेका सिंहले सरकारले मूल्यवृद्धि रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरे ।

नेता सिंहले सरकार पूर्णरुपमा असफल भएको दाबी गर्दै भने, ‘समृद्धिको अभियान अगाडि बढाउने ठाउँमा त्यसलाई अधोगतितिर लगिरहेको भनेर जनताले नै भनिरहेको कुराबाट यो सरकार के कस्तो भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ ।’

कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको उनले आरोप लगाए ।

‘कञ्चनपुरमा बलात्कार गरेर हत्या गरेको घटनालाई ट्वीस्ट गरेर, राजनीतिक रंग दिन खोजेर, अपराधिलाई छुटाउने प्रयास सरकारले गर्यो ।’

पानीजहाज चलाउने सपना देखाउने तथा विकास निर्माणको ठूलाठूला नारा दिने सरकारलेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको उनले बताए ।

‘‘ल एण्ड अर्डरको कुरामा पनि टोटल्ली यो सरकार विफल भएको छ । जनतालाई शान्ति सुरक्षा दिने कुरामा पनि शतप्रतिशत विफल भएको छ, विकास निर्माणको कुरामा पनि केबल नारामात्र अगाडि सार्ने काम भएको छ । पानीजहाजदेखि रेलको कुरा गर्ने तर सडकका खाल्डाखुल्डी नपुर्ने ?’

कार्यक्रममा नेता सिंहले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =