पूर्वाधार विकास कार्यक्रममा सांसदले निरकुंशता लादेको आरोप

आज बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै अछाम क्षेत्र नम्बर २ को क बाट समानुपातिक प्रदेशसभा सदस्य रहेकी दुर्गा कामीले पूर्वाधार विकास कार्यक्रममा आफूहरुलाई समावेश पनि नगरिएको गुनासो गरिन्।
प्रदेश सरकारको वार्षिक योजनामा छनौट हुन नसकेका योजना पूर्वाधार विकास कार्यक्रम मार्फत कार्यान्वयन गर्ने आशा गरिएको भएपनि आफूलाई योजना छनौटमा सहभागी सम्म नगराईएको आरोप उनको छ।
null
आफ्नो निर्वाचन क्षेत्रका सांसदलाई आग्रह गर्दा पनि योजना छनौटमा समावेश नगराईएको समेत उनको आरोप थियो। कामीले पूर्वाधार विकास कार्यक्रमलाई निरकुंशको संज्ञा दिदै मनपरी ढंगबाट एकल निर्णय गर्ने व्यवस्था गरिएको भए खारेजीको माग समेत गरिन्। कामी नेकपाको तर्फबाट अछाम क्षेत्र नंं २ को क बाट समानुपातिक प्रदेशसभा सदस्य हुन्। उनको निर्वाचन क्षेत्रबाट नेकपाकै अक्कल रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रदेश पूर्वाधार विकास सञ्चालन कार्यविधिले समानुपातिक प्रदेशसभा सदस्य, पूर्वाधार विकास छनौट तथा अनुगमन समितिको सदस्य रहने व्यवस्था गरेको छ। प्रदेशसभाको आजको बैठकले प्रदेशसभाको सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाएको छ।








