वैज्ञानिकलाई कृषिमन्त्रीले सोधे: खै के–के भयो उपलब्धि ?

“
काठमाडौँ, भदौ ४ । कृषि तथा पशु पन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा सुधार ल्याउनेगरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।
कृषि अनुसन्धान परिषद्को पुनः संरचनाका लागि कास्कीको लुम्लेमा भैरहेको छलफलमा मन्त्री खनालले वैज्ञानिकको कामको उपलब्धि खोजेका हुन् ।
उनले वैज्ञानिकले कतिवटा विषयमा प्रमाणपत्र लियो भन्दापनि कृषकले के उपलब्धि पाए भन्ने आफ्नो चासो रहेको बताए ।
नार्कको कार्यशैली बदल्नु पर्ने भन्दै नेपालमा वैज्ञानिक भएपनि भारतबाट आयात गर्नुपर्ने अवस्था रहनु ठिक नभएको उनले बताए ।
उनले तत्काल नतिजा निस्कनेगरी आफ्नो विषयमा अनुसन्धान गर्न निर्देशन दिए । आवश्यक परे ऐन संशोधन नभई पुनरलेखन गर्न पनि सकिने तर कृषकले उपलब्धि पाउनु पर्ने बताए ।
नार्कले अहिलेको कार्यशैली पनि बदल्नु पर्ने बताए । नार्कका संरचना मर्ज गर्नुपर्ने र क्षेत्रीय कार्यालयलाई विकास गर्न आवश्यक रहेको मन्त्री खनालको भनाइ छ । ‘तपाईंहरूले कतिवटा विषयमा विज्ञता हासिल गर्नु भो त्यो मेरो विषय हैन कृषकले र देशले के पायो त्यो मेरो चासो हो,’ मन्त्री खनालले भने ।
कृषि मन्त्रालयको इज्जत राख्नेगरी काम गर्न राज्यमन्त्री राम कुमारी चौधरीले आग्रह गरिन् । रिसर्चका लागि रिसर्च हैन, प्रयोगमा आउने खालका रिसर्च गर्न उनले आग्रह गरिन् ।
प्रदेश नं ४ का कृषिमन्त्री लेख बहादुर थापाले अनुसन्धानको विषय प्रदेश मातहत भए स्थानीय आवश्यकता अनुसारको क्षेत्रमा अनुसन्धान गरीने र तत्काल उपलव्धि हुने दाबी गरे ।
क्षेत्रीय कार्यालय र प्रदेश सरकारबीच सहकार्य हुन नसकेको क्षेत्रीय कार्यालयका प्रमुखले गुनासो गर्दै यस्ता विषय प्रस्ट पार्न आग्रह गरे।
कृषि अनुसन्धान परिषद् नार्कको पुनरसंरचनाका लागि छलफल भइरहेको छ । गत वर्ष असोजमा गठन भएको कार्यदलले तयार गरेको मस्यौदा अनुसार नै नार्कको नयाँ संरचना बनाउन लागिएको हो । यस्तै गत असारमा पनि संशोधन मस्यौदा तयार गर्न समिति गठन गरिएको थियो ।
२७ वर्ष पहिले स्थापना भएको नार्कलाई नयाँ संरचनामा लैजान लागिएको हो । मंगलबारसम्म चल्ने छलफलले कस्तो संरचनामा जाने भन्ने टुंगो लगाउने छ ।केन्द्र र प्रदेशका कृषीमन्त्री, कृषि विज्ञ, वैज्ञानिकहरू सहभागी छन् ।
“








