वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन अनलाइन प्रणालीको व्यवस्था गरिँदै

काठमाडौँ, असार ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास गर्ने भएको छ ।

वैदेशिक रोजगार सम्बन्धि काम गर्ने वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम कार्यालय, श्रम विभाग र व्यवसायीहरुलाई एकै ठाउँमा भेला गरी वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन अनलाईन प्रणालीको विकास गर्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

‘एक महिनाभित्रै अनलाईन प्रणालीलाई व्यवस्थित बनाइनेछ,’ उनले भने, ‘सम्बन्धित सबै निकायलाई जोड्ने कसरतमा मन्त्रालय छ ।’

अनलाईन प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाईनमा स्वतः रहने उनले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भएपनि फर्कने कति छन्, त्यसको विवरण मन्त्रालयसँग छैन ।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि कुन अवस्थामा छन्, उनीहरुको व्यवस्थित तथ्यांक नहुँदा मन्त्रालयले अनलाइन प्रणालीको विकास गर्न लागेको हो ।

वैदेशिक रोजगारीबाट फर्किसकेपछि पुनः दोहोर्याएर जाने श्रमिकहरुको तथ्यांक दोहोरिने गरेको छ । जसले तथ्यांकमा समेत दोहोरोपना देखिने गरेको छ ।
अनलाईन प्रणाली सुरु भइसकेपछि त्यसमा समेत सुधार आउने देखिन्छ ।

अनलाइन प्रणालीमा गइसकेपछि त्यसमा विदेशमा मजदूरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, पासपोर्ट नम्बर लगायत विदेशमा गरेको काम, उसको अनुभव लगायत सम्पूर्ण जानकारी राखिने श्रम मन्त्री गोकर्णराज विष्टले बताउँदै आएका छन् ।

श्रमिकको अनुभवको आधारमा उसलाई स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न यसले थप सहजता ल्याउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =