कोरोना उपचारका लागि देशभरका एक सय ११ अस्पताल छनोट

वैशाख १, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) महामारीको सन्दर्भमा सरकारले सोमबार कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणबाहेक अन्य विरामीको उपचारमा लापरवाही र कमजोरी हुन नदिन अस्पतालहरुका लागि निर्देशिका जारी गरिएको हो।
निर्देशिकामा सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका अस्पतालहरुको सूची तयार गरेको छ। सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य गरी एक सय ११ वटा अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार गरिने सरकारले जनाएको छ।
जसमध्ये २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन्। स्वास्थ्य संस्थासम्म सेवाग्राहीको पहुँचका लागि स्थानीय तहले आवश्यक प्रबन्ध मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ। कोभिड १९ बाहेक अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिनुपर्ने र कुनै पनि बिरामीको उपचार पाउने अधिकार खोसिए सम्बन्धित स्वास्थ्य संस्थामाथि कारवाही हुनेछ।

निर्देशिकामा कोभिड र अन्य स्वास्थ्य सेवाहरुको निरन्तरताका लागि सबै आकस्मिक तथा गम्भीर सेवाहरु सञ्चालन गर्नुपर्ने र अत्यावश्यक स्वास्थ्य सेवा र एम्बुलेन्ससहित स्वास्थ्य व्यवस्थपनका पक्षहरु सञ्चालन गर्न पनि सबै अस्पताललाई निर्देशन दिइएको छ। कोभिड १९ को पहिचान तथा उपचार व्यवस्थपनका सन्दर्भमा पनि सरकारले वडा तहका स्वास्थ्य चौकीदेखि ठूला अस्पतालहरुको कार्य क्षेत्र तोकिदिएको छ।
सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालहरुले आधारभूत परामर्श दिनेछन्। जिल्लास्थित प्रादेशिक अस्पताल र ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले आइसोलेशन, नमूना संकलन तथा नमूना सम्बन्धित प्रयोगशालामा पठाउनुपर्नेछ।
कोभिड १९ बाहेकका अन्य स्वास्थ्य सेवाहरुको लागि आकस्मिक तथा गम्भीर रोगका सेवाहरु कोभिडका लागि मात्र भनी तोकिएका अस्पतालबाहेक सबै स्वास्थ्य संस्थाले नियमित रुपमा सञ्चालन गर्नुपर्ने सरकारको निर्देशिकामा उल्लेख छ। स्वास्थ्य सेवाका कुनै पनि वाहना तथा आपुर्ति व्यवस्थापनमा कुनै रोक नलगाइने सरकारले जनाएको छ।










