बर्दगोरिया गाउँपालिकाको खेलकुद कार्यक्रमप्रति संस्थागत विद्यालयको आपत्ति

फागुन ३, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा आयोजना गरिएको खेलकुद कार्यक्रमप्रति संस्थागत विद्यालयलले असन्तुष्टि जनाएको छ ।मनोमानी ढंगले विद्यालयप्रति विभेदपूर्ण व्यवहार गरिएको भन्दै गाउँपालिकाको वडा नम्बर–१ स्थित नोवेल माविले आपत्ति जनाएको हो ।
विद्यालयलाई कार्यक्रमबाट बन्चित हुने किसिमले प्रतिसोधको भावना राखेर खेलकुद प्रतियोगिता भएको जनाउँदै यस्तो खेलकुद कार्यक्रमको औचित्य नभएको जनाएको छ । विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टसहितले गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई कार्यक्षमै गएर ज्ञापनपत्र बुझाएका हुन् ।
गएको बिहीबार गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई ज्ञापनपत्र बुझाउँदै प्रतिसोधको भावना र विभेदपूर्ण व्यवहारले गरिएको खेलकुद कार्यक्रमको बजेट रोक्का गर्न माग गरिएको छ । गाउँपालिका अन्तर्गत सामुदायिक र संस्थागत गरि ३६ बढी विद्यालय रहेकोले प्रत्येकले ब्यक्तिगत तथा अलगअलग ढंगले खेलकुदको आयोजना गर्दै जाने हो भने गाउँपालिकाले बजेट दिन सक्ने, नसक्नेमा हेक्का राख्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्न नसक्ने गाउँपालिकाले कुनै सीमित व्यक्तिले आयोजना गरेको कार्यक्रमका लागि मनोमानी रूपमा किन बजेट विनियोजन गरिएको हो ? पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाले छुट्टाएको बजेट हचुवाको भरमा कनिकाको रूपमा छरिएर अनियमित भइरहेकोमा ध्यानाकर्षण गराउँदै बजेटलाई व्यवस्थित गरि आर्थिक रुपले पछि परेका गरीब, विपन्न असहाय, अशक्त तथा सीमान्तकृत विद्यार्थीलाई वितरण गर्दा राम्रो हुने विद्यालयको ठहर छ ।
कसैसँगको सामिप्यता जोड्न र खुसी पार्न बजेट बिनियोजन गर्ने परिस्थितिले खेलकुदमा सबै विद्यालय र विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित नहुने, विद्यार्थीको खेलकुद र पढाई स्तरमा विकाससमेत नहुने जनाएको छ ।








