इच्छाकामना १ मा परियोजना लागू

माघ १, चितवन । चितवनको इच्छाकामना १ का स्थानीयवासीहरुको सामाजिक तथा आर्थिक परिवर्तनका लागि परियोजना सुरु भएको छ । सामाजिक कार्यमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालिकासंगको सहकार्यमा त्यस क्षेत्रका स्थानीयको परिवर्तनका लागि सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ भन्ने नाराका साथ परियोजना सुरु भएको हो ।
३ वर्ष सम्म चल्ने परियोजनाको बिहीवार एक कार्यक्रमकाबीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो । प्रतियोगिता मार्फत यहाँका स्थानीयमा परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताए । सोसियल इम्प्याक्टले यसअघि कालिका नगरपालिकाको वडा नम्वर १० र ११ ( साविक सिद्धी गाविस ) मा पनि यस्तै किसिमको परियोजना संचालन गरेको थियो ।
इच्छाकामना १ मा संचालित परियोजनाका लागि करिव २ करोड ५० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गिरीले बताए । परियोजनाको उद्घाटन गर्दै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङले गैरसरकारी संस्थाले निश्चित समयसम्म काम गर्ने भएकाले यहाँकै स्थानीय आफ्नो जीवन परिवर्तनका लागि जागरुक हुनु पर्ने बताईन् । गाउँपालिकाको प्रत्येक डाँडामा बाटो, खानेपानी पुगेपनि स्थानीयमा मानसिक परिवर्तनको खाँचो रहेको उनको भनाई थियो ।

विकास भनेको बाटो घाटो बनाउनु मात्रै होईन् अध्यक्ष गुरुङले भनिन् मानसिक परिवर्तन गर्दै आर्थिक विकासमा लाग्नुपर्छ । परियोजना सो वडाको हात्तीवाङ र चौकीडाँडा बाहेकका ४ सय ८० घरधुरीमा लागू हुनेछ । चितवनको अग्लो स्थानमा रहेको पर्यटकीय क्षेत्र सिराईचुली समेत रहेको इच्छाकामना १ चेपाङ समुदायको वाहुल्यता रहेको वडा हो । सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतका अनुसार अन्तर घर,अन्तर विद्यालय, अन्तर स्वास्थ्यकर्मी, अन्तर कृषक, अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर उनीहरुमा परिवर्तन ल्याईनेछ ।
उनीहरुले आफ्नै लगानीमा गरेको परिवर्तन पछि उत्कृष्ठ ठहरिएकाहरुलाई पुरस्कार स्वरुप नगद प्रदान गरिने कार्यक्रम निर्देशक बस्नेतले बताए । तीन वर्षे परियोजनाको प्रत्येक ६,६ महिनामा उनीहरुलाई पुरस्कृत गरिने छ ।
स्थानीयको स्वास्थ्य, सरसफाई, आय-आर्जन, शिक्षा लगायतका क्षेत्रमा प्रतिस्पर्धा गराईनेछ । सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीको अध्यक्षतमा भएको कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष नन्दलाल गिरी, सपना भिलेज सोसियल इम्प्याक्टका संचालकहरु डाक्टर कृष्ण प्रसाद पौडेल, सजनराम भण्डारी, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मी, आधारभूत विद्यालय भाराङका प्रधानाध्यापक दिप गुरुङ लगायतले मन्तव्य राखेका थिए ।








