जावलाखेल क्वाटरफाइनलमा, दार्जिलिङ ३–१ ले पराजित

कार्तिक ३, भरतपुर । ‘ए’ डिभिजन क्लब जावलाखेल फूटबल क्लब ललितपुर नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   

युनाइटेड फूटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो ।   

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफको १७ औं मिनेटमा पहिलो गोल खायो । जावलाखेलका लागि जर्सी नम्बर १० का शक्ति राईले सुजित बुढाथोकीको पासमा पहिलो गोल गरेपछि झनै आक्रामक बनेको जावलाखेलका लागि दोस्रो गोल जर्सी नम्बर ७ का सुजीत बुढाथोकीले गरे ।   

२–० ले पछि परेको युनाइटेड एफसी दार्जिलिङका लागि जर्सी नम्बर २ का शुभम क्षेत्रीले दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरे । जावलाखेलका लागि तेस्रो गोल इञ्जुरी समयमा सुजीतले नै गरे । दुई गोल र एक असिस्ट गरेका सुजितले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । 

 सेमिफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ । प्रतियोगितामा पाँचौं दिन सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।   

आर्मी बाइ पाएको टिम हो भने एपीएफ झापा–११ लाई पराजित गर्दै अघि बढेको टिम हो । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सह आयोजक रहेको छ ।   

प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =