‘सामाजिक–आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित’-परराष्ट्रमन्त्री ज्ञवाली

“
काठमाडौँ, साउन १२ । तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको सामाजिक–आर्थिक विकासको धेरै पुरानो चाहना पूरा गर्न वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन् ।
ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डाः राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक प्रवचनमा उनले अहिलेको सरकारका प्राथमिकता र नीति नेपालको सामाजिक–अर्थिक रुपान्तरणमा केन्द्रित भएका बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले स्वदेशमा नै रोजगारीका अवसरको सिर्जना गर्ने तथा गरिबी घटाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण अभियानमा सरकार जुटेको बताए ।
ब्रसेल्सस्थित एशियाली तथा युरोपेली देशका राजदूत, विद्वत् वर्ग, सञ्चारकर्मी, नेपालका मित्र र बेल्जियममा बसोबास गर्दै आएका नेपाली नागरिकहरुको सघन उपस्थितिमा भएको उक्त कार्यक्रममा परराष्ट्र मन्त्रीले देशभर आर्थिक रुझान प्रवद्र्धन गर्नु सरकारको लक्ष्य रहेकाे बताए ।
नेपाल प्रगति र समृद्धिको पथमा अग्रसर हुँदै नयाँ युगमा प्रवेश गरेको तथा त्यहाँ भएका सकारात्मक प्रगतिलाई आत्मसात् गर्न नेपालका मित्र र साझदारलाई आह्वान गर्दै उनले लगानीको वातावरण पनि तयार भएको जानकारी दिए ।
उनले भने, ‘लगानीको वातावरण बनेको छ त्यसलाई थप समर्थवान बनाउन हामी मुखले होइन कामले गरेर देखाउँछौँ ।’ रासस
“








