रसुवाको टिमुरेमा गएको पहिरोमा परि अहिलेसम्म ९ को मृत्यु (नामावलिसहित)

“
रसुवा, साउन १० । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा गए राति गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी नायब उपरिक्षक सन्तोष तामाङका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ का अन्दाजी ४५ वर्षका मिङमर गोम्बो तामाङ, वडा नं २ का ४५ वर्षका दोर्जे वाङ्जु घले, उनको श्रीमती अन्दाजी बर्ष ३७ कि कार्साङ सिमो घले, नुवाकोटका अन्दाजी ३० वर्षका शर्मिला कमिनी र नुवाकोटकै ककनी गाउपालिका घर भएका अन्दाजी ३० वर्षका सुमो चालक रमेश तामाङको शव पुरिएको स्थानबाट निकालिएको छ ।
यस्तै पहिरोमा परि मृत्यु हुने अन्यमा सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिका वडा नं ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी ४५ वर्षका मंगल तामाङ र अन्दाजी २७ वर्षका बिक्रम श्रेष्ठ तथा भोटेकोसी गाउँपालिका वडा नं ४ का अन्दाजी ३७ वर्षका सुस खड्का रहेको रसुवा प्रहरीले जनाएको छ ।
उनको अनुसार पुरिएकाहरुको खोजीको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, स्थानीयवासी सहितको टोली र रसुवागढी जलबिद्युत आयोजना र सडक डिभिजन कार्यालयको डोजर र स्काभेक्टर प्रयोग गरी हराएकाहरुको खोजिकार्य भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
पहिरोमा परी ज्यान गुमाउनेहरू टिमुरेमा व्यापार गर्दै आएका ब्यवसायी, कामदार तथा कन्टेनर र सुमोका चालक रहेको बताइएको छ ।
पहिरोमा परि घाइते भएका १२ जना मध्ये ५ जनालाई चिनियाँ क्याम्पमा उपचार पश्चात दिउसो काठमाडौ पठाइएको छ । दुईजनाकोे अबस्था गम्भीर रहेको छ ।
आज बिहानको पौने एक बजेको समयमा अबिरल बर्षासँगै आएको पहिरोले टिमुरे स्थित प्रहरी चेक पोस्ट सहित चारवटा घर पुरिएको थियो भने नेपाल बाट चिनको केरुङतर्फ सामान लिन जान लागेको ५ वटा कन्टेनर पुरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पहिरो पश्चात चीनसंग सञ्चालनमा रहेको एकमात्र ब्यापारिक नाका रसुवागढी नाका अबरूद्व भएको छ । सडक र नाका भोली साँझसम्ममा सञ्चालनमा ल्याउने गरि पहिरो पन्छाउने कार्य जारी रहेको छ ।
“








