मदिरा सेवन गराई युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

असोज ५, विराटनगर । किशोरीलाई जबरजस्ती मदिरा सेवन गराई बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले ग्रामथान–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई शनिबार राति नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका–५ बस्ने सुरेश थानदार, कमल पुरी, बेलबारी–५ बस्दै आएका सन्तोष कुमार माझी र प्रकाशकुमार थारू रहेका छन् ।

किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ करणी गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनका अनुसार शनिबार राति करिब १ बजे करणी भएको खबर आएको थियो । लगतै घटनास्थल पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटनामा संलग्न चारै जना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् । मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउ परेकाहरूलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।








