डा. केसीको माग सम्बोधनका लागि दबाबमा परेपछि सत्तारुढ दल छलफलमा

काठमाडौं, साउन ८ । चिकित्साशिक्षा क्षेत्रमा सुधारको माग राखी २५ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सत्तारुढ दल दबाबमा परेपछि पार्टीका शीर्ष तहका नेताहरुले अनौपचारिक छलफल सुरु गरेका छन् ।

संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा के कसरी अघि बढ्न सकिन्छ भन्नेबारे पार्टीका विभिन्न नेताहरुले अनौपचारिक रुपमा छलफल थालेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले  बताए ।

उनले भने, यो नितान्त चिकित्सा शिक्षा सुधारका उठेको मुद्दा भनिएकाले यसलाई राजनीतिकरण नगरौं बरु मध्यमार्गी बाटो के हुन सक्छ भनेर आ–आफ्नो ठाउँबाट पहल गर्ने कोसिस गरेको हो । तर कुनै औपचारिक छलफल भने होइन ।

विद्येयकका कुन कुन विषयलाई संशोधन गर्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेकोले यो विषयलाई एक दुई दिनभित्रै समाधान गर्ने सम्भावना रहेको उहाँले बताए ।  उनले  भने, यो विषयलाई सकेसम्म छिटो टुङ्ग्याउने तयारी छ, प्रधानमन्त्री ज्यू पनि सकारात्मक छन्, सम्भवत छिट्टै केही निष्कर्ष निस्केला ।

यसअघि हिजो नेता नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच अनौपचारिक छलफल भएको थियो । त्यस्तै नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच यसबारे छलफल भएको उनले बताए  ।

 यसैबीच अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको उनका सहयोगी डा अभिषेक सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =