चुनाबकाे संघारमा कांग्रेस धरानमा तरंगः कांग्रेसका क्षेत्रिय सदस्य सहित नेकपामा प्रवेश

कात्तिक २, धरान । नेकपाका स्थायी कमिटि सदस्य तथा १ नं. प्रदेश इञ्चार्ज भीम आचार्यले धरानलाई पर्यटकीय गन्तव्य, शिक्षा, स्वास्थ्यको हव बनाउन र धरानको विकासमा सक्षम नेतृत्वको लागि मंसिर १४ को उपनिर्वाचनमा नेकपाको दरिलो उपस्थिति अपरिहार्य भएको बताएका छन् ।
चाडपर्वको अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका कमिटिले आज (शनिबार) आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै आचार्यले मंसिर १४ गतेको निर्वाचनमा धरानमा नेकपाको दरिलो उपस्थिति रहनुपर्ने बताएका हुन् ।
उनले धरानको समृद्धिका लागि नेकपाले विशेष ध्यान दिएको समेत बताए । ‘धरानको बृहत्तर विकासका लागि नेकपा सदैव तत्पर छ, धरानको समृद्धिका लागि विशेष ध्यान दिन्छ ।’ आचार्यले भने ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रतिनीधिसभा सदस्य जयकुमार राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा सुनसरी इञ्चार्ज धर्मराज निरौला, प्रदेश सदस्य मुक्साहाङ लिम्बु, प्रदेश सासंद उमिता बराईली, लगायतको उपस्थिति थियो । कार्यक्रममा जिल्ला सदस्य प्रकाश राई, जिल्ला सदस्य तथा धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारी, फोक्वाहाङ सुब्वा चोत्लुङ, नेपाली काङ्ग्रेस नगर सचिव श्याम पोखरेल लगायतले ब्यक्त गरे ।
सोही अवसरमा नेपाली काङ्ग्रेस, लिम्बुवान, राप्रपा लगायतबाट नेकपामा ५ जना कार्यकर्ताहरु प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, सदस्य शुभेक्षा अधिकारी (श्रेष्ठ), स्वर्णिमहाङ फोम्मो लिम्बु लगायत छन् ।
श्रेष्ठ काङग्रेसका क्षेत्रीय सदस्य थिए । त्यस्तै स्वर्णिमहाङ संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्य रहेका थिए । यस्तै काङ्गेसका पुराना नेता सिझिकर्ण शर्मा र राप्रपाबाट विर्षकुमार विश्वकर्मा पनि नेकपामा प्रवेश गरेको नेकपा नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।








