शहीद स्मारक लिग : विजेता मच्छिन्द्रलाई उपाधिसँगै ५० लाख पुरस्कार

फागुन ३, काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो ।   

मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजेता बनेको छ । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त गरेको छ ।   

आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझाएको छ । उसले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ ।   

गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो ।   

उनीहरुले क्रमशः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे । लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको थियो ।   

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराएको थियो । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गरेको थियो । ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो ।   

विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *