कोरोना आशंकामा एक पुरूष अस्पताल भर्ना

वैशाख १, बुटवल। भैरहवामा कोरोना भाइरसको आशंकामा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। मायादेवी गाउँपालिकाका ५८ वर्षका एक पुरुषलाई कोरोनाको आशंकामा भैरहवास्थित भीम अस्पतालको आइसोलेसन कक्षमा राखिएको हो।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। सोमबार बिहान ती पुरुष स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका थिए।
कोरोना आशंकामा अस्पताल भर्ना भएका ती पुरुषमा करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको अस्पतालले जनाएको छ। सोमबार ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात उनलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।

‘कोरोना संक्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइनेछ,’ उनले भने।










