भातृशोक भुल्न ‘शोककाव्य’

काठमाडौँ,असार  २३ ।

अर्पण गरें शब्दका माला हातले उनेर
कलम मेरो अगाडि सर्यो जीवन्त बुनेर

लेख्नु छ यौटा करुण काव्य रचेर यसमा
प्रकृति आफ्नै प्रवृत्ति आफ्नै बसेर देशमा

आफ्नो पर्यटन व्यवसायी भाइ विजयको भातृशोकमा आधारित राधिका पन्त देवकोटाको शोककाव्य (विजय) पूर्ण रुपमा भाइप्रतिको समवेदनालाई आधारित मानेर तयार पारेको पाइन्छ ।

‘काव्य लेखिसकेपछि मनलाई बुझाउन केही सहज भएको छ ।’ शनिवार किताब विमोचनका क्रममा लेखिका राधिका पन्त देवकोटाले भनिन् । काव्य लेख्नुपूर्व मृतक भाइलाई भुल्न आफूलाई निकै कठिन भएको उनले बताइन् ।

वि.सं. २०३३ सालमा जन्मेका व्यवसायीको २०७० सालमा आफ्नै कार्यालय बोटानिकलबाट सम्पर्क अधिकृतको रुपमा विदेशी पर्यटकका साथमा हिमाली क्षेत्रमा धौलागिरी हिमालको हेडनभ्याली भन्ने ठाउँमा निधन भएको थियो ।

युवा अवस्थामा नै मृत्यु भएर जाँदा उसको परिवारलाई कस्तो शोक पर्छ त्यसलाई रचनात्मक ढंगबाट लेखिकाले प्रस्तुत गरेकी छिन् ।

बाबाको दैलो उजाड भयो चरीले टेकेन
यी दुई फूल ओइलिने भयो ईशले देखेन

यै फूलबारी आँसुले भिज्यो खै केले गोडुँ म
ती साना फूल नहुर्केसम्म कसरी भुलूँ म

तिहारको समयमा आफ्नो हात खाली हुँदाको पिडालाई उनले रचनात्मक रुपमा प्रस्तुत गरेकी छिन् । आफ्नो भाइलाई दैवले चुँडेर लगेको कुरालाई मर्मस्पर्शी रुपमा रच्दै अब कहिल्यै भाइ फर्केर नआउने सत्यलाई स्विकारेकी छिन् ।

पुस्तकको भूमिकामा पूर्व रजिष्टार नीलमणि ढुङ्गानाले लेखेका छन्, ‘आमा, बाबु, दिदी, भाइबहिनी र पत्नीको मनमा उठेका र उठ्न सक्ने वियोगजन्य वेदनालाई यस काव्यमा सशक्त ढंगबाट प्रस्तुत गरिएको छ ।’ प्रभाव ग्रहण गर्नु नराम्रो नभएको भूमिका उनले बाँधेका छन् ।

सबै पाठकले सरल भाषामा बुझ्ने शैलीबाट लेखिकाले उक्त काव्य तयार पारेकी छिन् । लेखिकाले आफ्नो भाइलाई गुमाएर आफू शोकमा परेजस्तै अन्यलाई पनि पर्न सक्ने सकारात्मक सन्देश दिन खोजेकी छिन् ।

उनको उक्त काव्य २६ वटा खण्डमा विभाजित छन् । काव्यमा उनले आफ्नो जवान एक्लो छोरालाई गुमाउँदा वृद्ध आमाबाबुलाई कस्तो प्रभाव पर्छ, जवान श्रीमतिको अवस्था कस्तो हुन्छ लगायत दिदीबहिनीको शोकलाई मार्मिक रुपमा कवितात्मक लयमा उतारेकी छिन् ।

काव्यलाई सरसर्ती नियाल्दा दिदीभाइको सम्बन्धलाई उजारण गर्न खोजेको छ । अहिलेको डिजिटल जमानामा मोबाइल र इन्टरनेटले परिवार/परिवारबीच नै फाटो ल्याउँदा दिदीभाइबीचको अनन्त मायालाई देखाउन खोजेको छ ।

काव्यको अध्ययनपश्चात उनले रचनामार्फत आफ्नो पिडा भुलाउन खोजेको स्पष्ट देखिन्छ । उनको यो छैठौं कृति हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =