सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

भदौ २९, काठमाडौँ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ । 

पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले  बताए । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उहाँले जानकारी दिए । 

रिकर्भका लागि १७ पुरुष र ११ महिलामध्येबाट सागका लागि चार पुरुष र चार महिला छनोट गरी आगामी असोज १ गतेबाट पोखरामै बन्द प्रशिक्षण शुरु गरिने अध्यक्ष गुरुङको भनाइ छ । सागको आर्चरीको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने निश्चित भइसकेको छ । 

null

कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरिसकिएको सङ्घले जनाएको छ । पुरुषतर्फ रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन र मीनप्रसाद गौचन छन् । महिलातर्फ पार्सदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मञ्जु बजगार्इं अन्तिम सूचीमा परेका छन् ।   

सागको आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए । 

रिकर्भ पुरुष व्यक्तिगत,  पुरुष टिम इभेन्ट,  मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिए। श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो । 

 नेपालले ११औँ र १२औँ सागमा पुरुष व्यक्तिगततर्फ काश्य पदक जितेको र आफ्नै घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिएकाले स्वर्ण पदक जित्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताए । महिला व्यक्तिगतमा स्वर्ण तथा पुरुष समूह र व्यक्तिगतमासमेत पदक आउने सम्भावना रहेको उनको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =