सरकारले गरीब परिचयपत्र बाँड्दै, गोरखाबाट शुरु भयो अभियान

गोरखा, असार २२ । नेपाल सरकारले गरीब परिचयपत्र बाँड्ने भएको छ । सोही अभियानअन्तर्गत सरकारले गोरखाका १२ हजार ४४ घरपरिवारलाई परिचयपत्र दिने भएको छ ।

‘हालसम्म गरीब लक्षित कार्यक्रम ठोस आधार बिनै सञ्चालन भएको थियो,’ जिल्ला समन्वय समितिका प्रमुख नारायण आचार्यले भने, ‘परिचयपत्र वितरण भएपछि लक्षित वर्गको कार्यक्रम निश्चित ठाउँमा गर्न पाइयो ।’ परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको उनले बताए ।

सरकारले २०७० सालको बैशाख महिनाबाट तथ्यांक संकलनको काम सुरु गरेको थियो । अबको तीन महिनाभित्र गरीब घर–परिवारलाई परिचयपत्र बाँडिसक्ने सरकारले तयारी गरेको छ ।

परिवारको आय–व्यय विवरण , पारिवारिक स्थिति, शैक्षिकस्तर आदिका आधारमा परिचयपत्र बाँड्ने तयारी गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

५९ हजार ६१ परिवारको तथ्याङ्क संकलन भएकोमा १२ हजार ४४ मात्र परिचयपत्र पाउनयोग्य देखिएको जिससका समन्वय अधिकारी नारायण आचार्यले बताएका छन् ।

४७ हजार १७ जनाको नाम भने गैरगरीब सूचीमा परेका छन् । ५ हजार ८ सय ३३ घर परिवारले अति गरीब, ३ हजार ७ सय १७ ले मध्य र २ हजार ४ सय ९४ लाई सामान्य गरीबको परिचयपत्र वितरण गरिने आचार्यले जानकारी दिए ।

अति गरीबलाई रातो, मध्यमलाई पहेंलो र सामान्यलाई नीलो कार्ड दिइने उनले बताए । जिल्लामा २८.६ प्रतिशत गरिबीको दर रहेको तथ्याङ्कमा उल्लेख छ । ‘औंठा छाप लिएर बुझेको प्रमाणसहित र घरमूलीको फोटो लिएर परिचयपत्र बाँड्छौं,’ आचार्यले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =