धार्मिक मेला लाग्ने समयमा पनि मन्दिर आसपासको व्यापार भएन

“
धरान, असार २० । सुनसरीको धरानमा रहेका ऐतिहासिक तथा धार्मिक मन्दिरहरुमा हरेक वर्ष साउन तथा विभिन्न समयमा मेला लाग्ने गर्दछ ।
मेलाको सिजन सुरु भएपनि धार्मिक पर्यटक देखिन छाडेपछि मन्दिर आसापासको व्यापारमा मन्दी आएको छ ।
केही समय अघिसम्म विभिन्न सिजनेवल समयमा मन्दिर अगाडी फुलमाला तथा फलफुल राखेर विक्रि गर्नेहरुले दैनिक ४/ ५ हजारको व्यापार गर्दै आएकोमा आज भोली मुस्किलले एक हजार रुपैयाँको समेत व्यापार नहुने गरेको व्यापारीहरु बताउँछन् ।
धरानको पिण्डेश्वर मन्दिर, दन्तकाली, बुढासुब्बा लगायतका मन्दिर वरिपरि विभिन्न समयमा धार्मिक पर्यटन सँगैै व्यापार व्यवसाय फस्टाउँदै आएको थियो तर हाल आएर फुलमालाको व्यापार धेरै घटेको छ, पिण्डेश्वर मन्दिर परिसरमा भेटिएकी फुल व्यापारी कलामाया तामाङको भनाई छ ।
उनले पहिला पहिला दिनाम ५/६ हजारको व्यापार हुन्थ्यो अहिले त मुस्किलले पाँच सयदेखि हजारसम्मको व्यापार हुन्छ भनिन् ।
पिण्डेश्वर मात्र नभएर दन्तकाली, बुढासुब्बामा समेत भक्तजन घटेका छन् । सधैँजसो भिड देखिने बुढासुब्बा मन्दिर अहिले सुनसान झै बनेको छ । व्यापारीहरु समेत आफनो पसल केही दिनलाई बन्द गरेर गएकाले मन्दिर अगाडी ५–७ वटा पसल मात्र खुलेका देख्न पाइन्छ ।
साउन महिनामा मात्रै पिण्डेश्वर आसापासका फुलमाला पसल लगायत साना पसलले करोड भन्दा बढीको व्यापार गर्ने धरानमा हाल आएर मन्दी नै छाएको छ ।
व्यापार व्यावसायको रुपमा धार्मिक पर्यटक कसरी भित्र्याउने विषयमा गत १८ गते सोमबार अन्र्तक्रिया कार्यक्रम नै गरिएको थियो ।
कार्याक्रममा धरानका प्रा.डा. राजेन्द्र शर्माले कार्यपत्र प्रस्तुत गर्दै धरानमा धार्मिक पर्यटनको समस्या र तीनका समाधानका बारेमा जानकारी गराउनुका साथै समयमा नै ध्यान दिनुपर्नै सुझाव दिएका थिए ।
बुढासुब्बा मन्दिरको अगाडी माला, पोते तथा फुल प्रसादको पसल थापेर बसेकी धनु श्रेष्ठले पनि पसलमा बस्न बानी परेकोले मात्रै पसल खोल्ने गरेको बताइन् ।
‘मान्छे आए पो व्यापार हुन्छ अहिले मान्छे नै आउँदैनन् । पहिलादेखि नै यही काम गरेर बसे घरमा त्यसै बस्न सक्दिन त्यसैले पसल थाप्न आएकी हुँ, उनले गुनासो गरीन ।’
टाढाबाट आउने भक्तजनले मात्रै मन्दिरमा चढाउन फुलमाला किनेर लैजाने र कोशेलीको रुपमा अरु सामान पनि लाने गर्दथे । तर अहिले टाढाबाट मान्छे नआएकोले व्यापार नभएको उनी बताउँछिन् ।
साथै वर्षायाम सुरु भएसँगै किसानहरु खेतीपातीमा व्यस्त हुने, व्यापारीहरुको आफनै व्यस्थता र विद्यार्थीको पनि पढाईको सुरुवात हुने भएकोले भक्तजनहरु वर्षाको समयमा सधैँ घट्ने गरेको उनी बताउँछिन् ।
उता पर्यटन व्यावसायी बासुदेव बरालले वर्षाको समयमा बाढी पहिरोको जोखिम हुने र कहाँ कतिबेला बाटो बन्द हुन्छ भन्ने निश्चित नभएकाले समेत पिण्डेश्वर लगायतका धरानका मन्दिरहरुमा भक्तजनहरु घटेको तर्क गरेका छन् ।
यसरी ऐतिहासिक पर्यटकीय स्थानहरुमा दिनानुदिन पर्यटक तथा वरिपरिका व्यापारिक हिसाबले खोलिएका व्यापारिक पसलहरुको सहि व्यवस्थापन गर्न सकिएन भने नेपाल सरकारको धार्मिक पर्यटक तथा त्यसबाट व्यापारमा फाइदा हुने कुरा सपना मात्रै हुनेछ ।
“








