मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्यो युरोपेली युनियनको ५ अर्ब ६ करोड अनुदान

“
काठमाडौँ, असार १४ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो ।
मन्त्रीपरिषद्को बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको बताउँदै सरकार प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको जानकारी दिए ।
युरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
त्यसैगरी बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि स्वीकृत गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।
“








