सत्ता र शक्तिको आडमा बैतडी डोजर काण्डः काँङ्ग्रेस

कार्तिक ७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरेको छ । 

  

डोजर मालिक आफैले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएका छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए । 

उनले भने, “डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको छ ।” ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको काङ्ग्रेसले आरोप लगाएको छ । 

पत्रकार सम्मेलनमा संयोजक थापाले जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाइ छ । 

सडक निर्माणका लागि कुनै बजेट र योजना बिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको काङ्ग्रेसको छानबिन टोलीले बताएको छ । 

घटनामा सडक निर्माण पक्षले जबर्जस्ती गर्न खोजेको संयोजक थापाले बताए । 

“दुवै पक्षबीच सहमति नभई डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ”, उनले भने, “स्थलगत रिपोर्टिङ गरेपछि अब स्था नीय प्रशासन, राजनैतिक दल र अन्य सरोकारवालाहरुसँग बसेर प्रतिवेदन बनाइनेछ ।” 

ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि काङ्ग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी सङ्कलन गरेको थियो । रासस 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =