सन्तोष साहुखलको किर्तिमानी : सय गोल गर्ने पहिलो खेलाडी

पुष २३, काठमाडौं । आफूले प्रहार गरेको बलले जाली छोए पछि सन्तोष साहुखल मुसुक्क मुस्काए। दशरथ रंगशाला मैदानमा एकैछिन कुदे। सहयात्रीहरुको बधाई स्वीकारे। बस्, यतिमै सकियो सन्तोष साहुखलले गोल गरेको खुसीयाली। तर त्यो मुस्कान साहुखलले नेपाली फुटबलमा हासिल गरेको उपलब्धिको हिसाबले पर्याप्त होइन।
किनभने उनले पाएको सफलता सानोतिनो होइन, उनी छ दशक पुरानो शहिद स्मारक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । यो दुर्लभ उपलब्धि हासिल गर्न उनले १६ वर्ष लामो तपस्या गरेका छन्।
उनले स्कुल ड्रेसमै मैदान पुगेर गोल गरेका छन्, परीक्षा छोडेका छन्, २०६० सालदेखि लिग खेलेको छन् र विदेशी भूमिलाई कर्मथलो बनाए पनि फुटबलकै लागि पटकपटक देश फर्केका छन्।

पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह भन्छन्, ‘यो गजबको उपलब्धि हो। आधुनिक नेपाली फुटबलमा यस्तो इतिहास दोहोरिन लामो समय कुर्नुपर्छ। ‘यति लामो धैर्यता अबका पुस्तामा शायदै भेटिएला।’
खेलजीवनमा कुनै पनि वर्ष खेल्न नटुटाएका साहुखल ‘ए’ डिभिजन लिगकै सर्वाधिक सफल खेलाडी हुने नै भए।
सयौँ गोल
एक सय गोल पुग्नु अगाडि नै उनको चर्चा चुलिएपछि साहुखलले भनेका थिए, ‘सय गोल ठूलो होइन। म जारी लिगमा एक दर्जनभन्दा बढी गोल गर्न चाहन्छु।’ बीबीसीकाे सहयाेगमा








