विश्वकप २०१८: नयाँ टोली पानामाको सामना गर्न सक्ला त बेल्जियमले ?

काठमाडौँ, असार ४ । विश्वकपमा पहिलो पटक खेल्न लागेको टिम आइसल्याण्डले उपाधि दाबेदार अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्दा अर्को नयाँ टोली पानामाले आज खेल्दै छ । उत्तर अमेरिकी देश पानामाले विश्वकपमा आफ्नो पहिलो खेलमा बलियो टिम बेल्जियमसँग सोमबार प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे सोचीमा हुनेछ । समूह जी मा रहेको बेल्जियम बलियो टोली हो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ । यस्तै पानामा ५५ औँ स्थानमा छ ।

पानामालाई बेल्जियमका लागि तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धीका रुपमा हेरिएको छ । तर अहिलेसम्मका खेलमा कमजोर भनिएका टिमले बलिया टिमलाई आत्थुआत्थु पारेका छन् । पानामाले पनि बेल्जियमलाई जित्न सजिलोसँग नदिने विश्लेषण गरिएको छ ।

बेल्जियमका डिफेन्डर थोमस वेर्माइलिन र भिन्सेन्ट कम्पोनी चोटका कारण मैदानमा हुने छैनन् । उसका लागि खराब कुरा हो । यस्तै पानामाका महत्वपूर्ण वेङ्गर अलबटो क्विन्तेरो गएको हप्ता खुट्टा फ्याक्चर भएका कारण विश्वकपमा खेल्न नसक्ने भए । तर रोमन टोरेस भने चोटबाट मुक्त भएर खेलका लागि तयार भएका छन् ।

हेड–टू–हेड

बेल्जियम र पानामा दुवै एक अर्काका लागि नयाँ प्रतिस्पर्धी हुन् । यी दुई टोलीबिच यसअघि भेट भएको छैन । यसले गर्दा दुवै टोलीलाई एक अर्काको बलियो पक्ष र कमजोरीका बारेमा जानकारी नहुन सक्छ । पानामाले विश्वकपमा छानिएर इतिहास बनाइसकेको छ । अब उसले त्यो उर्जा र उत्साहका कारण बलियो टिमलाई पनि असजिलोमा पार्न सक्छ, त्यो कुरा पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको खेलबाट पनि देखियो । एक अर्कासँग पहिलो पटक खेल्न लागेका बेल्जियम र पानामा दुवै विपक्षीको रणनीतिलाई माथ दिँदै अघि बढ्ने ध्यानमा छन् ।

बेल्जियम

बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित छ । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमले विश्वकपमा आफ्नो पहिलो खेलको कुरा गर्दा पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ । उसले अहिलेसम्म पहिलो खेल हारेको भनेको सन् १९८६ मा मेक्सिकोसँग हो ।

बेल्जियमले सन् १९७० यता विश्वकपको पहिलो खेलमा दुई भन्दा बढी गोल गरेको छैन । उसले सन् १९७० को पहिलो खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको थियो ।

विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।

पानामा

पहिलो पटक विश्वकप खेल्न लागेको पानाका गाब्रिएल टोरेस र रोमन टोरेस यो विश्वकपको छनौट चरणमा धेरै गोल गर्ने पानाका दुई खेलाडी हुन् । उनीहरुले दुई–दुई गोल गरेका छन् ।

पानामाले रुस विश्वकपका लागि छनौट हुँदा उसको गोल अन्तर माइनसमा थियो । अर्थात उसले छनौट चरणमा आफूले गरेको भन्दा खाएको गोल बढी थियो । पानामाले उत्तर अमेरिका तथा प्यासफिक क्षेत्रको छनौटमा १० खेलमा मात्रै तीन खेलमा जित निकालेको थियो ।

पानामा हेर्नान डारिओ गोमेजको प्रशिक्षणमा विश्वकप खेल्दैछ । उनले यसअघि दुई देशलाई आफ्नो प्रशिक्षणमा विश्वकप खेलाएका छन् । उनको प्रशिक्षणमा कोलम्बियाले सन् १९९८ र इक्वेडरले सन् २००२ को विश्वकप खेलेका थिए ।

पानामाका स्टार खेलाडी ब्लाज पेरेज हुन्, उनले चारवटा विश्वकप छनौटमा खेलेका छन् र ११ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =