अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई राहत प्रदान गर्न माग

चैत्र १५, काठमाडौं । कोरोनाभाइरस (कोभिड १९)ले विश्वलाई जकडीरहेको अवस्थामा नेपालका शैक्षिक परामर्श व्यवसायीहरुले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई राहत पुर्याउन आग्रह गरेका छन् ।  

नेपालका शैक्षिक परामर्श ब्यवसायीहरुको संगठनहरु नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ -फेकन_ इन्टरनेशनल एजुकेशन रिप्रिजेन्टेटिभ इनिसियटिभ नेपाल (आइरिन), नेपाली एशोशिएसन अफ अस्ट्रेलिया रिप्रिजेन्टेटिभ (नायर) र अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एलाइन्स (एका) ले संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य सुरक्षाका साथै गाँसबासको व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् ।   

उनीहरुले कोरोना भाइरसका कारण विद्यार्थीलाई ठूलो मार परेको भन्दै नेपाली विद्यार्थीलाई सहुलियत प्रदान गर्न सम्बन्धित निकायसँग माग गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । ‘अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा त्यसले नेपाली विद्यार्थीलाई पनि असर गरेको छ । उनीहरुलाई आवश्यक सहयोग र राहत प्रदान गर्न आग्रह गरिएको हो ।’ उनले भने ।   

शैक्षिक परामर्श संगठनहरुले नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समूदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा सरोकारवालासँग विद्यार्थीलाई सहयोग गर्न अपिल गरेका छन । 

उनीहरुले  ९ वटा बुँदामा नेपाली विद्यार्थीलाई राहत वितरण गर्न आग्रह गरेका छन् । भने, सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगित गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न माग गरेका छन् ।   

विद्यार्थी नेपाल फिर्ता हुन चाहेमा विद्यार्थीले बुझाएको सम्पूर्ण ट्युसन शुल्क फिर्ता गर्न, उनीहरुलाई छात्रवृत्ति प्रदान गर्न साथै ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन समेत उनीहरुले माग गरेका छन् । 

साथै स्थिति कावुमा नआउञ्जेल नेपाली विद्यार्थीलाई जिवनव्यतित गर्न राहत प्रदान गर्न आग्रह गरेका छन् ।   

अस्ट्रेलिया नेपाली विद्यार्थीहरूमा विदेशको अध्ययनका लागि उत्तम गन्तव्यहरू मध्ये एक भएको र अष्ट्रेलियाको शिक्षाको लागि नेपाल सबैभन्दा ठूलो बजार भएको बताइएको छ । साथै नेपाली विद्यार्थीले तिरेको शैक्षिक शुल्कले अस्ट्रेलियाको अर्थव्यवस्थामा ठूलो राजस्व योगदान पुर्याएकोलेपनि नेपाली विद्यार्थीलाई संकटको बेला राहत र सुरक्षा प्रदान गर्नुपर्ने शैक्षिक परामर्श प्रदायक संस्थाका संगठनहरुले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =