जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट

“
काठमाडौं, असार २ । कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको छ । बिहिबार कोलकाता आउँदै गर्दा जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको पुष्टी भएको हो । तर घटनामा भने कति नेपाली व्यवसायीको कति समान जल्यो भन्ने अझै खुलेकाे छैन ।
उक्त घटनामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको एक कन्टेनर मोबाइल जलेको बताएका छन् । नेपालका लागि माइक्रोम्याक्स कम्पनीको मोबाइल राखेर ल्याएको कन्टेनर जल्दा साढे तीन देखि ४ करोड बराबरको क्षति भएको मुरारकाले जानकारी दिए ।
बंगालको सामुन्द्रिक क्षेत्रमा सो आगलागीको घटना भएको थियो । जहाजबाट २२ जना क्रु-मेम्बरलाई सकुशल उद्धार गरिएको थियो । यो जहाजमा ४६४ वटा कन्टेनर थिए ।
‘कोलकाता आउने धेरै जहाजमा नेपाली व्यवसायीको समान हुन्छ । अरु व्यवसायीको पनि कन्टेन परेको संभावना रहेको मुरारकाको भनाई छ ।
उनले बीमा नगरी प्रतिपत्रपत्र (एलसी) खोल्न नपाइने भएकाले ठूलो घाटा भने बेहोर्नुनपर्ने बताए । ‘तर, बीमाको रकम तत्कालै आउँदैन । फेरि समान मगाएर ल्याउन प्रक्रिया पुर्याउँदा समय लाग्छ । त्यसले बिजनेसमा असर गर्छ,’ उनले भने ।
“








