दिगो विकासका लागि हरेक क्षेत्र विज्ञान र प्रविधिसँग जोडिनुपर्छः प्रम

असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आजदेखि राजधानीमा आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताए । ‘मुलुकको सर्वोत्तम हितका लागि र दिगो विकासका लागि हरेक क्षेत्रलाई विज्ञान र प्रविधिसँग जोड्नु आवश्यक छ ।’ उनले भने ।

विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै ओलीले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्दै भने, कृषिको बैज्ञानिकीकरण, प्राकृतिक खनिजजन्य वस्तुको उचित ब्यवस्थापनका विषयमा सरकारले दिर्घकालिन योजना बनाएर अगाडी बढ्नेछ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै संमृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको औंल्याए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना, सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा करीब ४०० युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघसंस्थाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *