महिला फुटवलमा भारतसँग नेपाल पराजित

पाेखरा । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो ।   

लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो । जहाँ नेपाल पराजित भयाे । 

भारतको जितमा खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गाेल गरेकि थिइन् । डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् ।   

नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् । 

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मङ्सिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् । 

 खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए। भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिए । महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ ।   

मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =