नदीको सदुपयोगमा गुरुयोजना बन्दै, ३ वर्षभित्र गुरुयोजना

काठमाडौँ, जेठ ३० । देशका सबै नदीको नदी बेसिन गुरुयोजना तयार गरिने भएको छ । खानेपानी, सिँचाइ, जलविद्युत तथा समग्र जलस्रोतको उपयोग बढाउन सरकारले सबै नदीको गुरुयोजना तयार गर्न लागेको हो । नेपालमा करिव ६ हजार नदी रहेको अनुमान छ ।

यी मध्ये साना–ठूला सबै नदीमा योजना बनाएरै प्रयोगमा ल्याउन जल तथा ऊर्जा आयोगले गुरुयोजना तयारीको प्रक्रिया अघि बढाएको छ ।
खानेपानी, सिंचाई, तथा जलविद्युतको क्षेत्रमा एकै पटक प्रयोग बढाउने र डुबानको समस्या हल गर्ने गरि अनुसन्धान भैरहेको आयोगले जनाएको छ । कोसी, कर्णाली, महाकाली, गण्डकीसहित साना नदीको गुरुयोजना तयार गर्ने आयोगका प्रवक्ता माधव बेल्बासेले बताए ।

खानेपानीलाई मौलिक हकको रुपमा संविधानमै उललेख भएकाले गुरुयोजना तयार गर्दा पहिलो प्राथमिकता खानेपानीलाई लिने आयोगले जनाएको छ । गुरुयोजना तयार गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बेल्बासेले बताए ।

उनका अनुसार अन्तिम छनोटमा परेका जर्मन र चिनियाँ संयुक्त कम्पनीले गुरुयोजना तयार गर्ने करिब टुंगो लागेको छ । यसबारे मस्यौदा सम्झौता समेत भइसकेको छ । विश्व बैंकको करिब ७७ करोड रुपैयाँ अनुदानमा ३ वर्षभित्र गुरुयोजनाको काम पूरा गर्ने लक्ष्य राखिएको छ ।

मस्यौदा सम्झौता गरी सहमतिका लागि विश्व बैंकमा पठाएकाले स्वीकृत भएर आउनासाथ काम सुरु हुने छ । आयोगले पहिलो चरणमा बागमती नदी बेसिन गुरुयोजना तयार गरिसकेको छ ।

बागमतीको पानी सदुपयोग, बाढी नियन्त्रण, सिँचाई लगायत पक्ष गुरुयोजनामा समेटिएको छ ।

काठमाडौं उपत्यकामा परेको पानीको आधारमा पर्सा र रौतहटमा कति बाढी आउँछ भन्ने जानकारी पहिल्यै दिन सकिने सफ्टवेयर तयार भएको छ । यहि वर्षबाट कार्यान्वयन गर्न जल तथा मौसम विज्ञान विभागलाई आयोगले सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =