बालकको हत्या आरोपमा वडाअध्यक्ष सहित १२ जना पक्राउ 

रौतहट, जेठ ३० । रौतहटमा एक बालकको हत्या आरोपमा वडा अध्यक्षसहित १२ जना पक्राउ परेका छन् ।

कटहरीया नगरपालिका वडा नं ९ डुमरीयाका चिकित्सक दिलिप साहका १२ वर्षिय छोरा युवराज शाहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वडाध्यक्ष रामअज्ञा यादवसहित रामबाबु, लालबाबु, शक्ति यादव, रवी पटेल, विनोद पटेल, स्थानीय डुमरियाकै प्रविण यादव, सुनिल यादवसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

शनिवार राति आफ्नै घरमा सुतेका बालकलाई राती एक बजेतिर नचिनेका मानिसहरुले अपहरण गरेर लगेका बताइएको छ । घरको भेन्टिलेशनबाट पसेर अपहरणकारीले ढोका खोली बालकलाई सुतिरहेको स्थानबाटै लगेका थिए ।

अपहरणकारीले भोलिपल्ट आईतबार साँझ बालकको बुवा दिलिपको मोवाईलमा फोन गरि १ करोड रुपैयाँ फिरौति माग गरेका परिवारले जनाएको छ । परिवारका अनुसार १ करोड रुपैयाँ दिन नसक्ने तर ५ लाख रुपैयाँ जसरी भएपनि उपलब्ध गराउने भन्दै दिलिपले आफ्नो छोरालाई अपहरणमुक्त गरिदिन आग्रह गरेका थिए ।

तर सोमबार बिहान गाउँभन्दा निकै टाढा रहेको बागमति नदिको किनारमा बालक युवराजको कन्चटमा गोली हानेर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आफ्नो छोराको हत्यारालाई कडाभन्दा कडा कार्वाहीको माग पीडित परिवारले गरेको छ । घटनाको गहन अनुसन्धान भइरहेको र सबै जानकारी आइसकेपछि जानकारी गराइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *