१ अर्ब ६० करोड खर्च हुने ट्रम्प र किमबीचको भेटवार्तामा गोरखा प्रहरीले सुरक्षा दिने

काठमाडौँ, जेठ २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उन अहिले ऐतिहासिक वार्ताका लागि सिंगापुर पुगिसकेका छन् । दुई नेताबीच मंगलबार सेन्टोसाको एक रिसोर्टमा ऐतिहासिक भेटवार्ता हुने तय भएको छ ।

लामो समयदेखिको कोरियाली प्रायद्विपमा चलेको शीतयुद्ध अन्त्य हुने दिशा तर्फ उन्मुख विषयमा ट्रम्प र किमबीचको अनेकौ पक्षको विश्लेषण भइरहेको छ । विश्वका यी दुई शक्तिशाली राष्ट्रका प्रमुखको ऐतिहासिक वार्तामा २० मिलियन सिंगापुर डलर (१ अर्ब ६० करोड) खर्च हुने जनाइएको छ । यो खर्च सिंगापुर आफैले गर्ने भएको छ ।

सिंगापुरका प्रधानमन्त्री सियन लुंगका अनुसार, यस मध्येको आधा रकम सुरक्षा व्यवस्थामा खर्च गरिन लागेको छ ।

प्रधानमन्त्री सियनले यो खर्च एक अन्तर्राष्ट्रिय पहलका हिसाबले सिंगापुरको हितमा भएको बताएका छन् ।

दुवै देशका कयौँ कुटनीतिकज्ञहरु सामेल हुने उक्त वार्तामा ऐतिहासिक शिखर सम्मेलनको सुरक्षा पहरा भने त्यहाँस्थित गोरखा प्रहरीले दिने भएको छ । रोयटर्सले गोरखाहरुलाई विश्वकै खतरनाक योद्धा भन्दै उनीहरुले नै डोनाल्ड ट्रम्प र किम जोङ उनको भेटघाटको सुरक्षा दिने जनाएको हो ।

यद्यपि दुवै राष्ट्रपतिका आआफ्नै सुरक्षा टोली हुने नै छन् तर सिंगापुर प्रहरीको गोरखा कन्टिनजेन्टले कार्यक्रमस्थल, सडक र उनीहरु बस्ने होटलको सुरक्षा दिने सिंगापुरका वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धरण गर्दै समाचारमा जनाएको छ ।

किम जोंग चाइना एयरलाइन्सको जहाज चढेर सिंगापुर पुगेका थिए । प्रधानमन्त्री ली शियेन लुंगसँग कुराकानी गरेपछि किम जोंगले भने, ‘यदि शिखर सम्मेलनमा कुनै सम्झौता भएमा इतिहासमा सिंगापुरको सम्झना रहिरहने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =