संसदमा नेमकिपाका सांसद सुवालको प्रश्नः प्रचण्डले आफ्ना घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन ?

“
काठमाडौँ, जेठ २७ । संसदको आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गृहमन्त्रीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब दिएको हो कि होइन भन्ने प्रश्न उठाएका छन् ।
समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेमकिपाका सांसद सुवालले शैलुङ कन्स्ट्रक्सनका ठेकेदार तथा धनी प्रचण्डको घरबेटीलाई कारबाही नगर्न प्रचण्डले दबाब दिएको हो कि होइन भन्ने प्रश्न उठाएका हुन् ।
बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले भने, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ । गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ ।
भक्तपुर जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।
गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो ।
“








