जोगबनी–किमाथांका सडक जोडिन अब १४ किलाेमिटर मात्र बाँकी

विराटनगर, माघ २२ । बहुप्रतिक्षित जोगबनी–किमाथांका सडक यसै आर्थिक बर्षभित्र जोडिने भएको छ । यससँगै भारतसँगको व्यापारिक एकाधिकार अन्त्य हुने विश्वास गरिएको छ । निर्माण कार्य सुरु भएको १० बर्षपछि जोगबनी–किमाथांका सडकले पूर्णता पाउने भएको हो ।
कोशी राजमार्गअन्तर्गत मोरङको रानीबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभामा चीनसँगको सीमावर्ती किमाथांकासम्म पुग्न अब १४ किलोमिटर मात्र बाँकी छ । उत्तर–दक्षिण कोसी सडक योजनाका अनुसार सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ ।
null
कोशी सडकका इन्जिनियर अजयकुमार साहले रानीदेखि किमाथांका चालु आर्थिक बर्ष भित्रै सडक सञ्जालले जोडने तयारी रहेको बताए । उनले भने ‘१ सय ४८ किलोमिटर ट्रयाक हामीले खोली सकेका छौँ । बाँकी १४ किलो मिटरका लागि अत्यन्त हार्डरक रहेकाले हामी त्यसलाई अब सेना मार्फत गराउने भन्ने थियो, हामीले नै गर्ने निश्चित भएपछी बंकर घर निर्माणका लागि टेण्डर आब्हान भएको छ, त्यसपछी खरिद प्रकृयामा जान्छौँ । सेनाको मद्दत लिएर हामी ट्र्याक ओपन गर्छौँ ।’
निर्माण सुरु भएको पाँच वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि १० वर्षसम्म पनि सडकले पूर्णता भने पाउन सकेको छैन । सडक सञ्जाल नहुँदा बारीमा उत्पादित साग सब्जी, आलुलगायतका खाद्यबालीले बजार नपाउँदा बारीमै कुहाउनुपर्ने र गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था रहेको बताउँदै स्थानीयले सडक सञ्जाल भए आफ्ना उत्पादनले बजार पाउने विश्वास लिएका छन् ।
उनीहरुले खाँदबारी किमाथांका सडकमा ट्रयाक खोलिएमा स्थानीय स्तरमा उत्पादित बस्तुले राम्रो बजार पाउने विश्वास व्यक्त गरे । संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका खड्ग पराजुलीले भने ‘हाम्रो यहाँ थुप्रै नगदेवालीहरु उत्पादन हुन्छ, सागसब्जिहरु प्रसस्त उत्पादन भएपनि त्यसले बजार पाउन सकिरहेको छैन । बजार नपाएर सागसब्जी बस्तुलाई खुवाउनु परिरहेको छ । सडकको ट्रयाक खोल्ने वित्तिकै हामीले बजार पाउँछौँ ।’ स्थानीय छत्र छत्रबहादुर राईले सडकको ट्रयाक खोलीए स्थानीयलाई चौतर्फि फाइदा पुग्ने बताए ।
उनले भने ‘सडक सञ्जाल जोडिए सवै वस्तुहरु हामीले आयात निर्यात गर्न सक्छौँ । सहज र सस्तो मुल्यमा सामान गाउँमै उपलब्ध हुन्छ । ढाकरबाट भारि बोकेर सामान ल्याउने कुराको अन्त्य हुन्छ ।’
रानी किमाथांका जोड्ने सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशबीच व्यापार गर्न सहज हुने यस क्षेत्रका उद्योगी ब्यापारीले अपेक्षा गरेका छन् ।
त्रिदेशीय सडक सञ्जालको नेपाल ट्रान्जिट हुने भएपछि यसको निर्माणले यस क्षेत्रकै समग्र विकासमा थप महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि सडक निमार्णकार्य समयमै सम्पन्न गर्न आवश्यक सहयोग र निगरानी राख्न आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङमा प्रथम उपाध्यक्ष चेतन निरौला बताउँछन् ।








