मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने, कुन–कुन गाभिए ?

काठमाडौँ, जेठ २३ । ६४ ओट विभाग रहेको संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा अब ५४ वटामात्र विभाग हुने भएका छन् । १० वटा विभागलाई गाभेर ६४ बाट ५४ विभाग बनाइएको हो ।

यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाभेर ५४ वटा मात्र विभाग बनाइएको हो ।

मन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाभिएको बताए । काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो ।

मन्त्रालयका उपसचिव सालिक दाहालका अनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू–सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाभिने भएका छन् ।

यसैगरी प्रहरी किताबखाना र विद्यालय–शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो ।

यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =