फेसन डिजाइनर केट मृत फेला, प्रहरीले फेला पार्यो सुसाइड नोट

“
न्युयोर्क, जेठ २२ । न्युयोर्ककी विख्यात फेसन डिजाइनर केट स्पेड आफ्नै अपार्टमा मृत फेला परेकी छिन् । उनी न्यूयोर्कस्थित उनकै नहट्टन अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेको न्युयोर्क प्रहरीले पुष्टि गरेको हो ।
केटलाई उनकी घरेलु कामदारले अचेत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बीबीसीका अनुसार अनुसन्धान शुरु गरेको प्रहरीले सुसाइड नोट फेला पारेको छ तर त्यसमा के लेखिएको छ भन्ने खुलाइएको छैन ।
५५ वर्षीय केटको निधनको खबरसँगै विश्वभरकै फेसनप्रेमीहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले केटप्रति श्रदाञ्जली दिइरहेका छन् ।
फेसन म्यागाजिन म्डामोसेनको सम्पादकको भूमिकासमेत निर्वाह गरेकी केटले लुगा, जुक्ता, गहनालगायतको कुशल डिजाइनरको परिचय बनाएकी थिइन् ।
उनले आफ्ना श्रीमान्सँग मिलेर सन् १९९३ मा केट स्पेड ह्याण्डव्याग खोलेकी थिइन्, जसले निकै सफलता हासिल गरेको थियो ।
“








