मेलिना राईको ‘कति बोलाउ निर्मोहिलाई’ को छायांकन अमेरिकामा सम्पन्न

माघ १४, काठमाडौँ । अमेरिकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको कति बोलाउ निर्मोहीलाई बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
रमेश एमके पौडेलको शब्द रचनालाई नेपाली चलचित्रका सुपरहिट निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन् भने गीतमा लोकप्रिय नेपाली साङ्गीतिक समूह ‘कर्मा ब्याण्ड’का लिड भोकलिष्ट सुरेन्द्रमान सिंहको छायांकन रहेको छ । भिडियोलाई बद्री लामिछानेले सम्पादन गदैछन् ।
null
रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसकेका छन् । पौडेल नेपाली रेडियो, टेलिभिजन तथा डिजिटल टेलिभिजन अध्ययन तथा स्थापनामा एउटा स्थापित संचार उद्यमी छन् । निरन्तर साहित्य सृजनामा सक्रिय लेखक पौडेलका अन्य गीतहरु पनि सार्वजनिक हुने तयारीमा छन् ।
लाइभमाण्डूसँग कुराकानी गर्दै निर्देशक नारायण पुरीले भने, ‘रमेशजीको शब्दमा जीवन देखें, यथार्थपरक शब्दहरुले मन छुन्छ जसलाई डा. किरातको सङ्गीतमा मेलीना राईको स्वरले प्राण भर्ने काम गरेको छ । शब्दसंग नजिक रहेर भिडियो निर्देशन गरेको छु, भिडियो राम्रो बनेको छ ।’
टेक्सासका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस गीतमा दर्जनाैँ म्यूजिक भिडियोमा अभिनय गरेकी सुनिक्षा मैनालीले अभिनय गरेकी छिन् । भर्जिनिया बस्दै आएकी मोडल मैनाली म्यूजिक भिडियोकै लागि टेक्सस आएकी हुन् । यस अघि उनी नेपाली चलचित्रका अभिनेता दिलीप रायमाझीदेखि अन्य धेरै चर्चित अनुहारहरुसंग भिडियोमा अभिनय गरी सकेकी छिन् । उनको जोडीका रुपमा राकेश सहनी देखिएका छन् ।
रमेश एमके पौडेलको शब्द रचना रहेको गीतलाई BODHI HD को निर्माण तथा 8848 मिडिया हाउसले सहकार्य गरेको छ । लाइभमाण्डूसंगको कुराकानीमा BODHI HD का निर्देशक तथा यस गीतका रचनाकार पौडेलले भने, ‘गीतको प्रोमोसन देखि बजार व्यवस्थापन, प्रशारण लगायतको काम गर्नेछ । हामी चाँडैनै यो भिडियो हाम्रो YouTube च्यानल (https://youtube.com/bodhihd) बाट सार्वजनिक गर्नेछौं’
डा. किराँतको संगीत रहेको गीतसंगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम ‘सम’ छिट्टै बजारमा आउँदैछ । एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई लगायतको स्वर तथा कन्काईष्ट राईको सङ्गीत रहेको छ ।
गीतकार पौडेलले टेक्ससमा बसेर अनलाईन टिभी, रेडियो तथा म्युजिक भिडियो तथा चलचित्र निर्माण सम्बन्धी काम गदै आएका छन् ।








