जातिय छुवाछुत राष्ट्रको गम्भीर चुनौति, छुवाछुत गर्नेलाई उन्मुक्ति दिइने छैन– प्रधानमन्त्री ओली

“
काठमाडौँ, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक राष्ट्रका लागि छुवाछुत गम्भीर चुनौति रहेको बताएका छन् । छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौति रहेको भन्दै छुवाछुत सामाजिक र नैतिक भ्रष्ट्राचार तथा मानविय गरिमा विरुद्धको अपराध भएको बताएका हुन् ।
हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान गर्दै उनले भने, छुवाछुत गर्नेलाई उन्मुक्ति दिइने छैन र यो हाम्रो प्रतिबद्धता हो ।
नेपाली एक भएर लागेमा छुवाछुत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैंको लागि समाप्त हुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको जानकारी पनि गराएका छन् ।
नेपालमा २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ । २०६३ जेठ २१ गते नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा गरिएको थियो ।
“








