शिक्षा, स्वास्थ्य, समाजसेवा र महिला शशक्तिकरणमा याेगदान पुर्याउने तीन जनालार्इ सम्मान गरिँदै

जेठ १६, काठमाडौँ । शिक्षा, स्वास्थ्य, समाजसेवा र महिला शशक्तिकरणमा सक्रिय तीन व्यक्तित्वलाई सम्मान गरिने भएको छ । मकालु खबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा शिक्षा, स्वास्थ्य, समाजसेवा र महिला शशक्तिकरणमा लामो समयदेखि योगदान पुर्याउने तीन व्यक्तित्वलाई सम्मानित गरिने लागिएको हो ।

आउँदो शुक्रवार शुलभ मिडिया प्रा.लि.ले सञ्चालन गरेको मकालु खबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा समाजसेवा र स्वास्थ्य सेवामा निजीक्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएवापत विराटनगरस्थित नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा सम्मान गर्न लागिएको छ ।

फरवार्ड नेपाल नामक संस्थाबाट ग्रामीण महिलाहरूलाई शशक्तिकरण गर्दै उनीहरूलाई आर्थिक, सामाजिक, राजनीतिक रूपमा अगाडी बढाउन सफल नेतृ भगवती चौधरीलाई पनि सम्मान गर्न लागिएको छ ।

शिक्षा क्षेत्रमा ४५ वर्षदेखि सक्रिय व्यक्तित्वको नाम हो जर्ज जोन । छिमेकी राष्ट्र भारतमा जन्मिएर नेपाललाई कर्मथलो बनाउनु भएका जोनले पोखरा स्थित पोखरा क्याम्पसको विकास र विस्तारमा अतुलनिय योगदान गर्नुभएकोले उहाँलाई सम्मान गर्न लागिएको हो ।

गत वर्षबाट डिजिटल सञ्चार माध्यमका रूपमा प्रसारणमा आएको मकालु खबरले स्थापनाको पहिलो वर्षमै उल्लेखनीय सफलता हासिल गरेको छ ।

जनतालाई छिटो, भरपर्दो तथा विश्वसनीय सूचना प्रवाह गर्न प्रतिबद्ध मकालु खबरले स्थानीय देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय तहका विषयवस्तुलाई महत्त्व दिँदै समाचार प्रसारण गर्दै आईरहेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवा र राष्ट्र सेवामा सक्रिय व्यक्तित्व सम्मानार्थ कार्यक्रम आयोजना गरिएकोे मकालु खबरका प्रकाशक केशव सापकोटाले बताए । ‘सञ्चार जगतले जनतालाई सही सत्य तथ्य समाचार प्रवाह गर्नुका साथै सामाजिक क्षेत्रमा योगदान दिने सेवकहरुको योगदानको कदर गर्नुपर्दछ भनेर सम्मान कार्यक्रमको सुरुवात गरेका हौँ ।’ उनले भने ।

पूर्वी नेपालका स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मानित गर्न लागिएको हो । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको छ ।

२०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले विपन्न बिरामीलाई दैनिक करिब ५ लाख बराबरको निःशुल्क उपचार गर्ने गरेको छ । नोबेलले पूर्वका विभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न बिरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।

यसै गरी महिला शशक्तिकरणमा योगदान पुर्याउनु भएकी पूर्व वनराज्यमन्त्री भगवती चौधरीलाई दुई लाख २५ हजार बढी महिलालाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रम मार्फत उनीहरूलाई आर्थिक क्षेत्रमा पहुँच पुर्याएको भन्दै सम्मान गर्न लागिएको हो । चौधरीले फरवार्ड माइक्रोफाइनान्स मार्फत देशका ४० भन्दा बढी क्षेत्रबाट महिलालाई सङ्गठित गर्नुभएको छ ।

पोखरा क्याम्पसको संरक्षकका रूपमा रहनुभएका जर्ज जोनले पोखराको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । ४५ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहनुभएका जोन भारतमा जन्मनुभएपनि नेपाललाई कर्मथलो बनाउनु भयो ।

२०१५ सालदेखि शिक्षा क्षेत्रमा सक्रिय जोन महेन्द्र क्याम्पस बाग्लुङको क्याम्पस प्रमुख, प्रहरी विद्यालय साँगाको प्रिन्सिपल लगायत अनगिन्ती शैक्षिक संस्थामा रहेर काम गरिसक्नु भएको छ । उहाँले गोर्खा दक्षिण बाहुका साथै अनगिन्ती पुरस्कार, मानसम्मान र पदक प्राप्त गरिसक्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलको प्रमुख आतिथ्यमा हुन गइरहेको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री, सभासद्, शिक्षाविद्, समासजेवी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहने शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप डिसीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई मेगा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *