फ्रान्समा एक वर्षको अवधिमा १० लाखले छाडे धूमपान

“
फ्रान्समा एक वर्षमा १० लाख मानिसले धूमपान छाडेको तथ्यांक सार्वजनिक भएको छ । यो आँकडा सन् २०१६ देखि २०१७ को बीचको हो ।
सर्वेक्षणमा संलग्न पब्लिक हेल्थ फ्रान्सका अनुसार यो आँकडा विगत एक दशकयताकै सबैभन्दा बढी हो । विशेषगरी कम आय भएका मानिसहरु र युवाहरुले धूमपान छाड्ने क्रम तीब्र भएको छ । हालै फ्रान्समा सन्चालन भएको धूमपानविरोधी अभियान नै यस्तो गिरावटको कारण हुन सक्ने बताइएको छ ।
अभियानका क्रममा सूर्तिजन्य पदार्थका उत्पादनको प्याकेजिङ, सूर्तिको सट्टा अन्य पदार्थ प्रयोग गर्नेलाई पुरस्कृत, चुरोटको मूल्य बढाउने र राष्ट्रिय सूर्तिजन्य पदार्थमुक्त महिनाजस्ता कार्यक्रम सन्चालन गरिएको थियो ।
सर्वेक्षणका अनुसार सन् २०१७ मा १८ देखि ७५ वर्ष उमेरका २६.९ प्रतिशत मानिसहरु धूमपान गरेको पाइएको छ । यसअघिको वर्ष यो आँकडा २९.४ प्रतिशत थियो ।
अर्थात् एकवर्षमा धूमपान गर्नेहरुको संख्या १ करोड ३२ लाखबाट घटेर १ करोड २२ लाख भयो । फ्रान्सकी स्वास्थ्यमन्त्री एग्नेस बुजिनले न्यून आर्थिक अवस्था भएका मानिसहरुको धूमपान छाडेकोमा स्वागत गरेकी छन् ।
गत वर्ष गरिएको एक अध्ययनमा सूर्तिजन्य पदार्थविरुद्धको नीतिका बाबजूद दशकौंसम्म पनि धूमपान गर्नेको संख्यामा कमी आएको थिएन । कारण, जनसंख्यावृद्धि सँगै धूमपान गर्नेको संख्या पनि थपिँदै जान्थ्यो ।
‘द लान्सेट’ नामक जर्नलका अनुसार विश्वभरमा हरेक १० मृत्युमध्ये एकको मृत्युको कारण धूमपान बनिरहेको छ । धूमपानबाट बढी मृत्यु हुने मुलुकमा चीन, भारत, अमेरिका र रुस छन् ।
विश्लेषकका अनुसार धूमपान महामारीजस्तै धनी देशमा कम र मध्यम आय भएका मुलुकमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानको लत छुटाउन सूर्तिजन्य पदार्थको प्याकेटमा छापिने तस्बिर र चेतावनीको भूमिका पनि महत्वपूर्ण रहन्छ ।
विश्वका ७८ देशले यसलाई पालना गरिरहेका छन् ।
एजेन्सी
“








