एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी गर्ने

काठमाडौं, ७ चैत्र । प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । 

दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी । 

 

null

पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत भ्याउँदिनन् । 

‘अहिले सबैजसो विषयमा ट्युसन क्लास लिएकी छु, पहिलेभन्दा धेरै सहज बनेको छ । दिनभरि पढाइमा व्यस्त हुन्छु । राजनीतिक कार्यक्रममा गएकी छैन,’ सांसद चौधरीले भनिन्, ‘स्कुलमा गएर पढ्नु राम्रो हो । त्यो गर्न नसके पनि घरमा बसेर अध्ययन गर्छु । नजानेका कुरा सम्बन्धित विषयका शिक्षकसँग सोध्छु ।’ 

वर्षभरि उनी राजनीतिक काममा व्यस्त रहिन् । पढाइका लागि समय मिलाउन पनि उनलाई अप्ठ्यारो थियो । विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी । 

‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्, ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’ 

सचेतकको जिम्मेवारीमा रहेकी उनी नियमित संसद् बैठकमा उपस्थित हुनुपर्छ । संसद्भित्रका गतिविधिलाई उनले विशेष ध्यान दिनुपर्ने दायित्व छ । ‘पढाइप्रतिको दृढताले समयको व्यवस्थापन गर्न कोसिस गर्छु,’ उनले भनिन्, ‘बढी उमेरका मानिसमा बिर्सिने समस्या हुन्छ । अलि ढिलो बुझ्ने हुन्छ । तर, पनि भित्री इच्छाका साथ पढ्नुपर्छ भनेर होला मेरो पढाइ सन्तोषजनक छ, यसमा खुसी लाग्छ ।’ 

सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उनले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आएकी छन् । तर, पीएचडी गर्ने सोच एसईईमा कस्तो नतिजा आउँछ, त्यसमा भर पर्ने उनी बताउँछिन् । 

‘एसईईमा कस्तो ग्रेड आउँछ । कलेज पढ्न पाउँछु कि पाउँदिन । राम्रो ग्रेड आए पढ्छु । पीएचडी गर्छु त भनिराछु,’ उनले थपिन्, ‘हेरौं, त्यो त समयले बताउने कुरा हो । अहिलेको एसईईमा कस्तो नतिजा आउँछ त्यसमा भर पर्छ ।’ 

‘हामी कानुन बनाउने ठाउँमा छौं । कानुन बनाउँछौं । हामीले कानुन बनाउने हो । कानुन बनाउँदा हामीसँग शिक्षा छैन । कानुनी कुरा बौद्धिक स्तरबाट हुन्छ,’ सांसद चौधरीले भनिन्, ‘देशका लागि कानुन बनाउने ठाउँमा पुगेको मान्छे । पढाइ नहुँदाका समस्या मैले भोगेको छ । नपढेका मानिसले केही गर्न सक्दैनन् भन्ने होइन । पढ्दा सहज हुन्छ । संविधान पढ्ने कुराहरू संविधानका बुँदामा के छन् भन्ने कानुनका कुरा पढ्नुपर्ने हुँदा पढाइ सुरु गरेकी हुँ ।’ 

पहिलोपटक संविधान सभामा समानुपातिक सांसद बनेकी उनले संसदीय सभापतिको भूमिका पाइन् । समिति सभापति बनेपछि उनमा ठूलो जिम्मेवारीबोध भयो । आफूले अध्ययन नगरेको हुँदा अध्ययनबिना तर्क–वितर्क गर्न उनलाई कठिन भयो । समितिमा रहेका अन्य सांसदले अध्ययन नै नगरेको भनी हेय दृष्टिले हेर्न थाले । 

आफूले अध्ययन गर्न नसक्दा समस्या उत्पन्न भएपछि उनले आफ्नो अध्ययन अघि बढाउने निश्चय गरिन् । घरमै छोरा र छोरीसँग स्वअध्ययन गर्न सुरु गरिन् । आफूले अब विद्यालय पुगेर अध्ययन गर्ने निश्चित भएपछि उनी विद्यालयमा आफ्ना लागि कति कक्षा उपयुक्त हुने भनी प्रि परीक्षा दिन पुगिन् । शिक्षकले उनको पढाइलाई मध्यनजर गर्दै उनलाई कक्षा ८ मा भर्ना लिने निष्कर्षमा पुगे । 

विद्यालयमा कक्षा ८ मा भर्ना हुन पाउने भएपछि उनलाई अझ चुनौती थपियो । हरेक वर्ष हुने परीक्षामा सामेल हुँदै जसरी पनि एसईई परीक्षाको तयारी गर्ने रु यो वर्षको एसईईमा सामेल हुन लागेकी उनी अध्ययनबिना केही सम्भव नहुने भन्दै आफ्नो अध्ययनमा जुटेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =