प्रधानमन्त्रीको सबै सम्पत्ति श्रीमतीको नाममा, आफ्नो नाममा गाडी समेत छैन

“
काठमाडौँ, जेठ ९ । प्रधानमन्त्री केपी ओलीको सबै सम्पत्ति श्रीमतीको नाममा रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको पाइएको हो ।
सार्वजनिक विवरण अनुसार, मन्त्री ओलीको भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ ।
त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ ।
ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीसँग गाडी पनि नभएको सम्पत्ति वितरणमा जनाइएको छ ।
“








