द्वन्द्वपिडित बालबालिकालाई राइट पाथको सहयोग !

काठमाडौँ, जेठ ९ । सहिद शिव श्रेष्ठ (क.रक्तिम) को १९ औँ स्मृति सभामा राइट पाथ करिअर काउन्सिलिङले द्वन्द्वपिडित बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

भुकम्पपिडित तथा द्वन्द्वकालमा अभिभावक गुमाएका असहाय बालाबालिकाहरुलाई राइट पाथ करिअर काउन्सिलिङका संस्थापक तथा मकालु खबरका अध्यक्ष फिलिप डिसीले नोटबुक, कलम र टिसर्ट सहयोग प्रदान गरेका हुन् ।

काठमाडौँको मनमैजु अवस्थित एकिकृत सृजनशील समाज नेपालमा वगुवा काठमाडौँ जनसम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा राइट पाथ करिअर काउन्सिलिङ लगायत अन्य व्यक्ति तथा संघ संस्थाले ४० जना बालबालिकालाई सहयोग गरेका थिए भने बालबालिकाहरुले उपस्थित सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । साथै जनवादी गायक झन्कार बुढामगरले बालबालिकालाई सृजनशील प्रभाव पार्ने उद्देश्यले हामी पनि खुशी खोजिरहेछौँ बोलको गीत गाएर सुनाएका थिए ।

ईश्वर ढकालको अध्यक्षतामा ५६ सालमा दिवंगत भएका सहिद शिव श्रेष्ठको मंगलबार आयोजित स्मृति सभामा गोरखा जिल्ला क्षेत्र नं १ का सभासद हरिराज अधिकारीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने फिलिप डिसी, रामहरी श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, झन्कार बुढामगर, प्रताप राज वन्त लगायतका अतिथिहरु, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मीहरुका साथै सहिद श्रेष्ठकी श्रीमती सरीता श्रेष्ठ, आमा मनमाया श्रेष्ठ, छोरा सामना श्रेष्ठ र छोरी सुवानी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहिद श्रेष्ठका स्मृति स्वरुप मौनधारण गरिनुका साथै तस्विरमा माल्यार्पण गरिएको थियो ।

सभामा बोल्दै गोरखाका सभासद हरिराज अधिकारीले सहिद श्रेष्ठको बारेमा अवगत गराएका थिए । उनले एकिकृत नेकपा कम्युनिस्टका तर्फबाट सहिद परिवारप्रति सदैव सम्मान, सहयोग रहने तथा सहिदको सपना पुरा गर्न निरन्तर लागि पर्ने बताए । ७००० को हाराहारीमा सहिद घोषणा गरिएको भएतापनि राहत पत्रमा नाम उल्लेख गरिएको छैन भन्दै सरकारले सहिद परिवारप्रति कुनै सहयोग नगरेको अधिकारीले गुनासो पोखे ।

त्यस्तै कार्यक्रमका अतिथि तथा राइट पाथ काउन्सिलिङका संस्थापक फिलिप डिसीले आफ्नो व्यवसायको केही अंश समाजसेवामा लगाउने तथा बालबालिकाका सहयोगका लागि सदैव लागि पर्ने बताए । साथै उनले आगामी दिनमा पनि अनाथ बालबालिकाका उज्वल भविष्यका लागि आफ्नो तथा संस्थाका तर्फबाट सक्दो सहयोग गर्ने अठोट रहेको बताए ।

उनले भने, “”द्वन्द्वपिडित, भुकम्पपिडित तथा अभिभावक भएर पनि अभिभावकको साथ नपाएका बालबालिकाको भविष्यका लागि केही अंश खर्चिन पाउँदा खुशी लागेको छ ।”” कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाको सहयोग विना नै बालबालिकालाई अभिभावकत्व ग्रहण गर्ने संस्थाप्रति पनि उनले आभार प्रकट गरे ।

उनका अनुसार, “”समाज, राष्ट्रनिर्माणका लागि भविष्यका कर्णदारप्रति राज्यले निः शुल्क शिक्षाको व्यवस्था गर्नुका साथै उनीहरुको भविष्यप्रति देश सचेत हुनु जरुरी छ ।””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =