‘अधिनायकवाद आऊला भन्ने आशंका छैन’

“
काठमाडौं, जेष्ठ ७ । सोमबार संघीय संसदको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसमर्थनमा बहुमतको सरकार बनेकाले अधिनायकवाद आऊला भन्ने आशंका र अपेक्षाको कुनै अर्थ नभएको बताएकी छिन् ।
‘हामीले शान्ति र स्थायित्वको आधार बनाएका छौं,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘एउटै चुनावी घोषणापत्र, एउटै उद्देश्य, एउटै नीतिका साथ व्यापक जनसमर्थनमा बहुमतको सरकार बनेको छ। यो महत्त्वपूर्ण कुरा हो। लोकतन्त्र मासिएला, अधिनायकवाद आऊला र जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको आधारमा व्यवहार गरिने सामन्ती प्रतिगमन होला भन्ने आधारहीन आशंका र अपेक्षाहरुको अब कुनै अर्थ छैन।’
देशभक्तिलाई होच्याउने कुरा सरकारले स्वीकार गर्न नसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘सरकारको प्रत्येक कामको केन्द्रबिन्दु जनता हुनेछन्’, नीति तथा कार्यक्रममा उल्लेख छ।
“








