वर्षको उत्कृष्ट युवा खेलाडी बने सन्दीप लामिछाने, महिलामा शोभा गौचन

“
काठमाडौं, जेठ ४ । पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको छ ।
२०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गरिएको हो ।
भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भएको अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको हो । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड क्रिकेटका पारस खड्काले जितेका छन् । यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितेकी छिन् उनले पल्सर मोटरसाइकल प्राप्त गरेकी छिन् ।
त्यस्तै, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् ।. जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौँ स्थानमा रहेको थियो ।
यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप लामिछाने भएका छन् । सन्दीप अहिले दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका छन् ।
त्यस्तै, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारा एथलिट अवार्ड बास्केटबल तथा क्रिकेट खेलाडी हिमाल अर्याललाई प्रदान गरिएको छ । भने स्पेशल अवार्ड करन केसीले जितेका छन् । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु खेलमा क्यानाडाविरुद्ध ४२ रन बनाएर नेपाललाई क्वालिफायरमा पुर्याएकाले उनलाई यो अवार्ड दिइएको हो । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ । फुटबलमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । त्यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जितेका छन् ।
“








