काम नलाग्ने टायरलाई प्रशोधन गरी उद्योग सञ्चालन

म्याग्दी, जेठ ३ । विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् ।

जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री निर्माण गर्ने उद्योग सञ्चालन गरेका हुन् ।

जलजला–८ लस्तीमा १० रोपनी जग्गा भाडामा लिएर स्थापना गरिएको ‘ढिकी जाँतो हस्तकला’ उद्योगबाट सवारी साधनका काम नलाग्ने टायर प्रशोधन गरेर टी टेबल, डायनिङ टेबल, कुर्ची, ¥याक, बच्चाका कुर्ची, टेबल, ऐना, मुडा, गमला तथा विभिन्न सजावटका सामग्री निर्माण गरिँदैआएको छ । खेर जाने टायरलाई प्रशोधन गरी उत्पादन गरिएका सामानलाई घाम र पानीले असर नगर्ने सञ्चालक खत्रीले बताएका छन् ।

चार वर्ष जापानमा रहँदा टायर प्रशोधन उद्योगमै काम गर्ने अवसर पाएका केसीले त्यहाँ सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी उद्योग सञ्चालन गरेको बताए । उद्योग स्थापना गर्न हालसम्म रु ७० लाख खर्च भएको छ । टायरसँगै बाँसलगायतका अन्य कच्चा पदार्थबाट समेत हस्तकलाका सामान बनाउने गरी उद्योगको क्षमता विस्तार गर्ने योजना रहेको सञ्चालकले बताएका छन् ।

अहिले उक्त उद्योगमा टायरबाट बनाइएका १५ प्रकारका सामग्रीलाई बजारीकरण गर्न बेनीको शिक्षा मार्गमा बिक्री कक्ष स्थापना गरिएको छ ।

गुणस्तरीय र टिकाउसँगै आकर्षकसमेत हुने भएपछि अहिले विभिन्न क्षेत्रबाट टायरबाट निर्मित कुर्ची, टेबुल, मुडा, गमलालगायतका सामग्रीको माग बढ्दो छ । नकुहिने रबर र टायरबाट कुर्ची, टेबुललगायत सजावटको सामग्री निर्माण गर्न सकिने नयाँ प्रविधिको प्रयोग गरिएको यस उद्योगले वातावरण संरक्षणमा समेत योगदान पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *