वैदेशिक रोजगारीका लागि पुगेका १७९ नेपालीको भारतबाट उद्धार

काठमाडौं । पछिल्लो समय नेपाली कामदारलाई तेस्रो मुलुक पु¥याउने सजिलो ट्रान्जिट पोइन्टका रूपमा भारत विकसित हुँदै गएको छ ।
खुला सिमाना तथा बिनाभिसा सहज आवतजावत गर्न सकिने भएकाले मानव तस्करहरूका लागि भारत सजिलो ट्रान्जिट पोइन्टका रूपमा विकसित हुँदै गएको हो ।
मानव तस्करीमा संलग्न हुनेहरूले नेपाली कामदार तथा युवायुवतीलाई भारतको सडक तथा हवाई मार्गको प्रयोग गर्दै अन्य मुलुकमा ओसारपसार गर्ने गरेका छन् । भारत हुँदै तेस्रो मुलुकमा मात्र होइन, भारतमा समेत मानव तस्करी हुने गरेको पाइन्छ । मानव तस्करको ठूलो सञ्जाल नेपाल तथा भारतमा फैलिएको प्रहरीले जनाएको छ ।
null
वैदेशिक रोजगारीका लागि भारत पुगेका १७९ नेपाली कामदारलाई बुधबार भारतबाट उद्धार गरिएपछि यो रहस्य खुलेको छ। रोजगारीका लागि नेपालका विभिन्न जिल्लाबाट भारत पुगेका नेपालीलाई मनिपुरको इनफाल पु¥याइएको थियो । उद्धार गरिएकामा ३२ पुरुष र १४७ महिला छन् ।
भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका सहचरी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरूलाई उद्धार गरेको थियो ।
उद्धार गरिएकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसका लागि आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








